२०८१ जेष्ठ ९ गते बुधवार

तुलसीपुरमा आजदेखि महोत्सव



दाङ, २५ मंसिर ।
तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव आजदेखि शुरु हुन लागेको छ । आधुनिक पुस्तकालय स्थापनार्थ संचालन हुन लागेको महोत्सवको दिउँसो १२ बजे उद्घाटन हुने भएको हो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका जलस्रोत तथा उर्जा राज्यमन्त्री अर्जुन श्रेष्ठले गर्नुहुने भएको छ । महोत्सव उद्घाटन अघि साढे १० बजेतिर तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट शान्ति र्‍याली शुरु हुने आयोजकले जनाएको छ । र्‍यालीले बजार परिक्रमा गरी महोत्सवस्थल तुलसीपुर-६ हात्तिखौवामा आउने भएको छ ।

आजदेखि शुरु हुने महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रवद्र्धन हुने भएको छ ।

महोत्सव संचालनका लागि स्टल व्यवस्थापन, स्टेज तयारी, प्रचारप्रसार लगायतका काम पुरा भएको महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिनुभयो ।

महोत्सवमा करिब २ करोड कारोबार गर्ने लक्ष्य रहेको छ भने २५ लाख बचत गरेर पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार