दाङ, ४ पुष ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनमा भएको त्रुटिलाई सुधार गर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संसदले सञ्चार नीतिमा पास गरेको कुरालाई प्रदेश प्रमुखले हस्ताक्षर मात्र गरेको बताउँदै त्यसमा भएको कमी कमजोरीलाई सुधार गरेर लैजाने बताउनुभएको हो ।
सञ्चार मन्त्री शर्माले समाचार संप्रेषण गर्दा गलतलाई गलत र सही लाई सही लेख्न सक्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले सत्य तथ्य कुरा पत्ता लगाई समाचार संप्रेषण गर्न पनि सुझाव दिएका छन् । संचारकर्मीहरु देशको चौथौं अंग भएको बताउदै गलत कुरालाई आलोचना गर्नबाट पछि हट्न नहुने बताउनुभयो । त्यस्तै मन्त्री शर्माले कसैको गल्तीलाई बढाइ चढाइ गरेर अरुलाई आक्षेप लाग्ने खालको समाचार सम्प्रेषण नगर्न आग्रह गर्नु भएको छ । संचार क्षेत्र आफैमा फराकिलो क्षेत्र भएकोले समाचार सम्प्रेषण गर्दा संवेदनशिल हुनु पर्ने उहाँको भनाई छ ।
त्यस्तै तुलसीपुर उपहानगरपालिकाका उपमेयर स्यानी चौधरीले संचार क्षेत्रलाई व्यापक रुपमा अगाडी बढाउनु पर्ने बताउनुभयो । अब नेपालको संचार भनेको विश्व सामु चिनाउन सक्ने खालको हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गौतम, नागरिक समाज दाङका पूर्व अध्यक्ष टिकाराम रेग्मी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति नवीन पोख्रेल, नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा धन्यवाद संघका उपाध्यक्ष सन्तोष सुवेदी र कार्यक्रमको सहजिकरण सचिव आर.के. शितलले गर्नुभएको हो ।
स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुले अक्ष्यकोष स्थापना गरेका छन् । पत्रकार महासंघका केन्द्रिय पार्सद डिल्ली बहादुर केसीले १ लाख एक हजार एक सय ११, टिकाराम रेग्मीले एक लाख र भुपाल गिरीले ५१ हजार बराबरको अक्ष्यकोष स्थापना गर्नुभएको छ ।।