दाङ, ९ पुष ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यान निर्माण समितिको नयाँ नेतृत्वको लागी मतदान जारी छ । अहिलेसम्म ४ सय २५ मत खसेको छ । चार सय ६९ मतदाता संख्या रहेकोमा करिब ९० प्रतिशत मत खसेको निर्वाचन समिती संयोजक लोकमणि पोखरेलले जानकारी दिनुभयो ।
मतदान बिहान ८ बजेदेखि सुरु भएको हो भने बेलुका ५ बजे सम्म हुने छ । निर्वाचन बाट १ जना अध्यक्ष र १ जना कोषाध्यक्ष विजयी हुने छन् । अन्य पदमा निर्विरोध सर्वसम्मत नेतृत्व चयन भईसकेको छ ।
अध्यक्ष र कोषाध्यक्ष पदमा नेतृत्व चयन हुन नसक्दा यी २ पदका लागि निर्वाचन भएको हो । समितिको अध्यक्ष पदका लागी २ जना बीच प्रतिस्पर्धा हुँदै छ । नेकपा एमालेको तर्फबाट डिल्लीराज भण्डारी उम्मेदवार बन्नु भएको छ । भण्डारी यस अघी पनि अध्यक्ष हुनुहुन्थ्यो । उहाँ दोस्रो कार्यकालका लागी उम्मेदवार बन्नु भएको हो ।
त्यसैगरी नेपाली काङ्ग्रेसको तर्फबाट ईन्दिरा शर्मा अध्यक्ष पदका लागी उम्मेदवार बन्नु भएको छ । शर्मा यस अघी कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई गठबन्धनको साथ रहेको छ ।
त्यसैगरी कोषाध्यक्षमा नेकपा एमालेको तर्फबाट ढुण्डिराज पराजुली उम्मेदवार बन्नु भएको छ भने नेपाली काङ्ग्रेसको तर्फबाट चिरञ्जीवी रिजाल प्रतिस्पर्धामा रहनु भएको छ । रिजाललाई गठबन्धनको साथ रहेको छ ।
सचिवमा राष्ट्रिय जनमोर्चाका कृष्ण पोख्रेल दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भईसक्नु भएको छ । त्यसैगरी विभिन्न राजनीतिक दलबाट ६ जना सदस्य सर्वसम्वत चयन भएका छन् ।
नेकपा एमालेबाट बालाराम रेग्मी, नेपाली काङ्ग्रेसबाट छविलाल पन्थी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट शिवराज कालाथोकी, एकीकृत समाजवादी बाट माधव गिरी, विप्लव निकट नेकपा बाट भक्तिराम भण्डारी र नेपाल समाजवादी पार्टीबाट टुकलाल भण्डारी समितिको सदस्यमा चयन भएका हुन् । समितिका पदाधिकारीहरुको कार्यालय ३ वर्षको हुने छ ।।