२०८१ बैशाख ५ गते बुधवार

किराना पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु



दाङ, ११ पुस ।
तुलसीपुरका बजारका पसलमा अखाद्य वस्तु फेला पर्ने क्रम रोकिन सकेको छैन् । बजार क्षेत्रकै ठुला कहलिएका केहि किराना पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेका हुन् ।

तुलसीपुर उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा सल्यान रोडका केहि किराना पसलमा गरिएको अनुगमनमा नाम चलेका किराना पसलमै म्याद गुज्रिएका नमकिन, केक लगाएतका अखाद्य वस्तु भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।

अनुगमनको क्रममा कुनै पसल उपमहानगरमा दर्ता बिनानै सञ्चालन हुनुको साथै उपभोग्य वस्तु नियम बिपरित घाम लाग्ने ठाउँमा राखिएको, सडक छेउमा बिक्रिका लागि राखिएका सामग्री प्रयोग गर्न अयोग्य तवरले राखिएको, लेबल टासँ नगरेका भुजा बिक्रि बितरण लगाएतका सामग्री फेला परेको उहाँले बताउनुभयो । म्याद गुज्रिएका करिब १० हजार बराबरका अखाद्य वस्तु जफत गरेर नष्ट समेत गरिएको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्मा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका पदाधिकारी, जनप्रतिनिधी, पत्रकार लगाएतको टोलीले अनुगमन गरेको हो । साथै बजारमा बिक्रि हुने अचार लगाएतका वस्तु स्वच्छता परिक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जमा पठाईएको उहाँले बताउनुभयो ।

साथै सम्पुर्ण नगरबासी तथा उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद तथा बिक्रि गर्दा सचेत भएर खरिद बिक्रि गर्न समेत उहाँले सुझाब दिनुभएको छ । उपभोक्ता स्वयम पनि सचेत भएर उपभोग मिती लगाएतमा चनाखो बन्न समेत उहाँले आग्रह गर्नुभयो ।।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार