
दाङ, ११ पुस
शिक्षण सिकाईका लागि सुनाखरी तुलसीपुर सिकाइ मेला आयोजना गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका सहित बिभिन्न आठ वटा बिद्यालयले मेलाको आयोजना गर्न लागेका हुन् । पुस १४ गते बिहान साढे आठ बजे माध्यमिक विद्यालय कालाखोलामा मेला आयोजना गर्न थालिएको हो ।
मेलामा शिक्षण सिकाइका बारेमा नृत्य,गीत,कविताका साथै स्वच्छ खाना, चित्रकला, खेललगाएतका स्टलहरु राखिने भएको छ । मेलाका विषयमा आज तुलसीपुर उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको बारेमा जानकारी दिइएको हो । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा सम्मेलनको आयोजना गरिएको हो ।
नगरप्रमुख खड्काले सिकाई मेला २०७५ सालमा समेत आयोजना गरिएको र केही वर्ष कोभिड संक्रमणका कारण आयोजना गर्न समस्या भएकाले आयोजना गर्न नसकिएको बताउनुभयो । साथै उहाँले अब प्रत्येक वर्ष सिकाइ मेला आयोजना गरिने बताउनुभयो ।
मेलामा विद्यार्थीहरुले तयार पारेका सामग्रीहरुको २० वटा र अन्य २० वटा स्टलमा पेशागत सहायक सामग्रीका रहने सम्मेलनमा बताइएको छ । उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने भएको हो । मेलामा अन्य छिमेकी पालिकाका विद्यालयहरुलाई समेत आमन्त्रण गरिएको छ ।
करिब ६ हजार बढी विद्यार्थीले सिकाइ मेलाको अवलोकन गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा शिक्षाविद् एवम सांसद शिशिर खनाल, शिक्षाविद् विद्यानाथ कोइरालालगाएतले शिक्षण सिकाइका विषयमा प्रशिक्षण दिने बताइएको छ ।
पत्रकार सम्मेलनमा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले कार्यक्रमका विषयमा जानकारी गराउनुभएको हो । व्यवस्थापकीय पक्षका बारेमा मेलाका सदस्य सचिव मावि कालाखोलाका प्रधानाध्यापक राजीव ओझाले प्रकास पार्नुभएको हो । कार्यक्रमको सहजिकरण मेलाका सञ्चार उपसमितिका संयोजक लक्ष्मी न्यौपानेले गर्नुभएको होे ।।