२०८० फाल्गुन १३ गते आइतवार

माथिल्लो हलवार र रनियापुर जोड्ने ग्वारखोलामा झोलुंगे पुल निर्माण



तुलसीपुर, १६ पुस ।
ग्वारखोलामा झोलुंगे पुल निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को माथिल्लो हलवार र रनियापुर जोड्ने ग्वारखोलामा झोलुंगे निर्माण गरिएको हो ।

पुल विभागबाट प्राप्त करिब ९० लाखको लागतमा १ सय २२ मिटर झोलुंगे पुल निर्माण गरिएको हो । कास्यप कन्ट्रक्सन प्रालिले २०७७ चैतदेखि निर्माण शुरु गरेको झोलुंगे पुलको गत मंसिरमा निर्माण कार्य पुरा भएको हो ।

आगामी वर्ष २०८० को असार मसान्तमा निर्माण सक्नुपर्ने पुलको ५ महिना अघि नै निर्माण कार्य सकिएको हो । पुलको शनिबार (आज) उदघाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले पुलको उद्घाटन गर्नुभएको हो ।

पुल संरक्षण समितिका अध्यक्ष चुणर्बहादुर पार्देको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले पुल निर्माणपछि स्थानीयको दैनिकी सहज भएको बताउनुभयो ।

तुलसीपुर-१९ का निवर्तमान वडासदस्य देवा नेपालीको स्वागत मन्तव्यबाट शुरू भएको पुल उद्घाटन कार्यक्रममा तलसीपुर -१९ का वडा अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष बालकृष्ण राना, तलसीपुर -१९ का निवर्तमान वडा अध्यक्ष रामबहादुर योगीले पुले खोलाका किनारामात्रै नभई खोला वारीपारीको वस्तीका नागरिकको मन पनि जोडेको बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर बन महासंघका अध्यक्ष चन्द्रबहादुर वली, जग्गादाता कृष्णप्रसाद आचार्य, शंकर चौधरी, डम्बरबहादुर रोका, धरमपानी टोल विकास संस्थाका अध्यक्ष बिरबहादुर पुन, सचिव बिमल रेग्मी लगायतले वर्षायाममा खोलाबाट वारपार गर्न असहज हुने गरेको अवस्थामा पुल बनेपछि अब सहज भएको बताउनुभयो ।

त्यसअवसरमा जग्गादाता कृष्णप्रसाद आचार्य, शंकर चौधरी, सनत रेग्मी, यमुना रेग्मी , प्रकाशबाबू रेग्मी,बुद्धिराम चौधरी, पूणर्बहादुर चौधरी, सुमन चौधरी, मिना बुढामगर, खड्गबहादुर बस्नेत र अन्य विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ । कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघ नेपाल, दाङका सचिव बसन्त पौडेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार