२०८१ चैत्र १२ गते मङ्गलवार

स्मार्ट छोरी कार्यक्रम : आवद्ध हुनेको संख्या ८ सय नजिक



तुलसीपुर, २१ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले लागु गरेको स्मार्ट छोरी कार्यक्रममा आवद्ध हुने छोरीको संख्या बढ्दै गएको छ ।

उपमहानगरपालिकाले २०७७ साउन १ गतेदेखि लागु गरेको कार्यक्रममा अहिलेसम्म ७ सय ७९ छोरी आवद्ध भएका हुन् । शुरुका वर्षभन्दा पछिल्लो वर्षमा कार्यक्रममा जोडिने छोरीको संख्या बढ्दै गएको तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

तथ्यांक अनुसार सुरुको बर्षमा एक सय ३४ जना, आर्थिक वर्ष २०७८/२०७९ मा ४ सय ३२ र चालु आर्थिक वर्षको मंसिरसम्म पाँच महिनाको अवधिमा २ सय १३ जना छोरी आवद्ध भएका छन् ।

पछिल्लो समय जनतामा पुगेको सूचना र जनचेतनाका कारण भत्ता लिनका लागि दर्ता हुन आउने स्मार्ट छोरीको संख्या बढ्दै गएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

उपमहानगरले स्मार्ट छोरी भत्ता २० वर्षसम्म उपलब्ध गराउने छ । बढ्दो बाल विवाहलाई न्यूनिकरण गर्नका लागि उपमहानगरले स्मार्ट छोरी बिहे वारी, बिस वर्ष पारीको कार्यक्रम लागु गरेको हो ।

यो कार्यक्रममा दर्ता हुने बित्तिकै पहिलो महिना खातामा दुई हजार ४ सय र त्यसपछि प्रत्येक महिना २ सय रुपैयाँका दरले उपमहानगरपालिकाकाले जम्मा गरिदिने गरेको छ ।

तर जम्मा गरेको रकम पाउनका लागि स्मार्ट छोरीले २० वर्ष पर्खिनु पर्नेछ । २० वर्ष नपुगि विवाह गरेमा जम्मा गरेको रकम पाउन नसकिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार