
दाङ, २२ पुस ।
दाङमा यौनजन्य अपराधका घटनाहरु बढ्दै गएको पाइएको छ । पछिल्लो साढे पाँच महिनामा ४८ वटा यौनजन्य अपराधका प्रभावितहरु अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पुगेको तथ्यांकले देखाएको छ ।
ओसिएमसीमा अभिलेख भएका यौनजन्य अपराधका ४८ घटनामा ३६ घटना बलात्कारका छन् भने १२ घटना यौनजन्य दुव्र्यवहारका छन् । चालु आर्थिक वर्षयता ओसिएमसीमा आएका लैङ्गिक विभेदमा आधारित हिंसा र ती हिंसामा ओसिएमसीले गरेको कार्यबारे जानकारी दिदै केन्द्रका संयोजक डा. विभूति शर्माले समाजमा भइरहेका यौनजन्य अपराध हेर्दा महिलाविरुद्धका हिंसा निकै धेरै हुनसक्ने वताउनुभयो ।
यौनजन्य अपराधका अतिरिक्त यो अवधिमा ओसिएमसीमा शारीरिक दुव्र्यवहारका ३५, मानसिक दुव्र्यवहारका १५, स्रोतसाधन र अधिकारबाट बञ्चित चार, बालविवाह र जबर्जजस्ती विवाहका छ गरी एक सय २५ लैङ्गिक विभेदमा आधारित हिंसाका प्रभावितले सेवा लिएका छन् ।
तथ्यांकअनुसार लैङ्गिक हिंसा प्रभावितहरुमध्ये सबैभन्दा धेरै ४८ जना जनजाति समुदायका रहेको देखिएको छ । त्यसपछि ब्राम्हण क्षेत्री समुदायका २७, दलित समुदायका २४, मुश्लिम एक, अपांगता भएका तीन जना रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले लैङ्गिक हिंसाका जिल्लाभरका घटनालाई एकीकृतरुपमा विश्लेषण गरेर काम गर्न आग्रह गर्नुभयो । घोराही उपमहानगरका उपप्रमुख हुमा डिसीले सहकार्य र समन्वय बढाउन आग्रह गर्नुभयो ।
प्रहरी उपरीक्षक वीरबहादुर वलीले सामाजिकरुपमा लाज, डर र इज्जतको भयले यौनजन्य अपराधका पीडितहरु समयमै न्यायिक प्रक्रियामा नआउने, होस्टाइल हुने अवस्थाप्रति ध्यान दिदै यस्तो हिंसा रोकथामको तहमा काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।