२०८० असोज ५ गते शुक्रवार

सल्यानमा आफ्नै भान्जाको हत्या गरेको आरोपमा मामा पक्राउ



सल्यान, २ माघ ।
सल्यानमा आफ्नै भान्जाको हत्या आरोपमा मामा पक्राउ परेका छन् । प्रहरीले कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीलाई आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको हत्या आरोपमा पक्राउ गरेको हो ।

धारिलो हतियार (हँसिया) प्रयोग गरी भान्जाको हत्या गरेको आरोपमा पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार दिउँसो पुरीले आफ्नै घर आँगनमा रहेको मन्दिर भित्र लगी बालकको हत्या गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकको शव मन्दिर भित्र जमिन मुनी गाडेको अवस्थामा फेला परेको हो ।

हत्या गरेको आरोपमा पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्थानीयले भने पुरी मानसिक रुपमा ठिक नभएको र विगत केही महिनादेखि औषधी सेवन गरिरहेको जनाएका छन् । पुरीको मानसिक अवस्था ठिक भए नभएको उनको स्वास्थ्य परीक्षणपछि मात्र थाहा हुने श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार