२०८१ जेष्ठ १६ गते बुधवार

अशक्त बालबालिकालाई सहयोग



तुलसीपुर, ६ माघ ।
तुलसीपुर अपांगता अध्ययन केन्द्रका बालबालिकालाई सहयोग प्रदान गरिएको छ ।

तुलसीपुर-७ को मावि कालाखोलामा रहेको केन्द्रका १४ जना बालबालिकालाइ शैक्षिक सामग्रि, खाद्यान्नका सामग्रि र न्यानो टोपी सहयोग गरिएको हो ।

तुलसीपुर-७ निवासी तथा विद्यालयका पूर्व शिक्षक हरिप्रसाद शर्मा र उहाँको धर्मपत्नी तुलसादेवी शर्मा, तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसी, सहयोगी अभियान्ता दिपक लामा लगायतको सहयोगमा ति सामग्री सहयोग गरिएको हो । विद्यालयका प्रधानाध्यापक राजिव ओझाको अध्यक्षता तथा वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण गरिएको हो ।

अशक्त बालबालिकाको संरक्षक तथा तुलसीपुर अपांगता अध्ययन केन्द्रका सदस्य सचिव यज्ञबहादुर बिकलाई सहयोग सामग्री हस्न्तारण गरिएको हो । त्यस अवसरमा वडा अध्यक्ष जिसीले अशक्त बालबालिकाको संरक्षणमा वडा सरकार सधैँ साथमा रहेको बताउनुभयो ।

यसअघि पनि केन्द्रको भवन निर्माणमा व्यक्तिगतरुपमै एक लाख बढी नगद सहयोग गरेका वडा अध्यक्ष जिसीले अशक्त बालबालिकाको समस्यालाई सहजरुपमा सहजीकरण गर्न वडा तयार रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक ओझाले विद्यालयमा अशक्त बालबालिकाको छात्रबास बनाउन सफल भएपनि बालबालिकाको पालनपोषणमा बजेट नहुँदा समस्या रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य सचिव विकले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार