२०८२ मङ्सिर १ गते सोमवार

उपेन्द्र-सरिता पौडेल दम्पतीद्वारा १७ परिवारलाई झुल वितरण



दाङ, १४ असार । तुलसीपुर उपमहानगरपालिका–७ जितपुरका सामाजिक अभियन्ता उपेन्द्र पौडेल र सरिता पौडेल दम्पतीले तुलसीपुरको एक गन्धर्व बस्तीमा झुल वितरण गरेका छन्। गर्मीयाममा लामखुट्टेको टोकाइका कारण डेङ्गु तथा अन्य सङ्क्रमणजन्य रोगको जोखिम बढिरहेका बेला सो झुल वितरण गरिएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरमा रहेको गन्धर्व बस्तीमा पौडेल दम्पतीले गन्धर्व समुदायका अति विपन्न परिवारलाई लक्षित गर्दै १७ घरपरिवारलाई आज (शनिबार) झुल वितरण गर्नुभएको हो।

समाजसेवी उपेन्द्र पौडेलले भन्नुभयो, “यो हाम्रो सानो प्रयास हो। झुलको प्रयोगले डेङ्गु जस्ता रोगको जोखिम घटाउन सकिन्छ भन्ने विश्वासका साथ वितरण गरेका हौँ। सामाजिक काम सधैं ठूलो रकम वा कार्यक्रम भएर मात्र गरिनुपर्छ भन्ने होइन। जहाँ सम्भव छ, जति सकिन्छ, त्यतिबाट सुरु गर्न सकिन्छ। यो सहयोगले पूर्णता नपुगे पनि हामीले समाजप्रतिको आफ्नो मानवीय जिम्मेवारी केही हदसम्म पूरा गरेका छौँ।”

गन्धर्व समुदायमा वितरण गरेका झुलहरूले ठूलो परिवर्तन नल्याए पनि स-साना कामले नै समुदायमा सकारात्मक सन्देश दिन सकिन्छ भन्ने उद्देश्यले व्यक्तिगत लगानीमा झुल वितरण गरिएको उहाँले बताउनुभया। यसअघि पनि पौडेलले दाङको घोराही उपमहानगरपालिका-११ नयाँ बस्तीमा रहेको गन्धर्व बस्तीमा पुगेर झुल वितरण गर्नुभएको हो ।

सम्वन्धित समाचार :टन्टलापुर घाममा उपेन्द्र र रविन झुल बाँड्न पुगेपछि…

उपेन्द« पौडेलसँगै झुल वितरण कार्यक्रममा पुग्नुभएकी पत्नी सरिता पौडेलले श्रीमानसँग मिलेर सामाजिक कार्यमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँले सामाजिक काममा श्रीमान्सँगै हातेमालो गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्ता सकारात्मक कार्यले समाजप्रतिको उत्तरदायित्व पूरा गर्न थप प्रेरणा मिलेको बताउनुभयो ।

विगत लामो समयदेखि समाजसेवामा क्रियाशील उपेन्द्र पौडेलले ‘हुनेले दिने र नहुनेले लिने योजनासहित तुलसीपुर र घोराहीमा कपडा बैंक सञ्चालन गरिरहनुभएको छ । यस्तै, घोराही-तुलसीपुरका सडकमा खाल्डा पुर्नेदेखि जेब्राक्रस निर्माण,दुःखी गरिबका घरमा खाद्यान्न सहयोगदेखि जस्तापाता लगाउन समन्वय जस्ता महत्वपूर्ण सामाजिक कार्य गर्दै आउनुभएको छ ।

“दैवले आफैं हाम्रो घरमा सहयोगी पठाएका हुन्।”

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार