२०८१ माघ ९ गते बुधवार

आयुर्वेद शिक्षण भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुधबार दाङ आउने



दाङ,२ फागुन।
राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ आउने हुनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उहाँ दाङ आउन लाग्नु भएको हो।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बतताउनुभयो ।

तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार