२०८१ बैशाख ११ गते मङ्गलवार

युवतीलाई भारतको कोठीमा बेचेको आरोपमा दाङका दुई जना पक्राउ



दाङ, ९ फागुन ।
जागीरमा लगाउने प्रलोभनमा एक युवतीलाई भारतमा बेचेको आरोपमा दाङका दुई जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ३९ वर्षिय टोपली सार्की र सोहि ठाउँकै ५२ वर्षिय बिमुसा सार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी ३९ वर्षिय टोपली सार्की घोराहीको लखनपार्क नजिकै रहेको होटल संचालक हुन् । उनी र बिमुसाले गत माघ २१ गते बिहान ८ बजेति एक २० वर्षिय युवतीलाई जागिर लगाइदिने प्रलोभनमा भारतको चण्डीगढमा यौन धन्दाका लागि कोठिको मालिकलाई बिक्रि गरेको खुलेको छ ।

घोराहीबाट नेपालगञ्ज हुँदै चण्डीगढ पु¥याइएकी पिडित युवतीले आफु बिक्रि भएको थाहा पाएपछि आफु घर फर्कने हारगुहार गरेपनि दुई जनाले युवतीलाई जवरजस्ती यौन व्यवसायमा लगाएका थिए ।

पिडित युवतीले बेचबिखनमा परेको जानकारी आमालाई दिएपछि प्रहरीमा माघ २२ गते दुवै जनाबिरुद्ध उजुरी परेको हो । १२ दिनसम्म यौन शोषणमा परेकी युवतीलाई विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

राम्रो जागिर लगाईदिने बहानामा भारतको चण्डीगढमा जवरजस्ती यौन व्यवसायमा लाग्न बाध्य बनाउने दुवै जनालाई फागुन ४ गते पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार