दाङ, १५ फागुन ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तुलसीपुरमा श्रमिक महिलालाई सम्मान गरिने भएको छ । फागुन २४ गते अर्थात मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तुलसीपुरमा श्रमिक महिलालाई सम्मानदेखि ग्रामिण क्षेत्रमा पुगेर महिला अधिकारबारे सचेतना प्रदान गरिने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा आज सरोकारवालासंग भएको अन्तरक्रियामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका नगर उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको अन्तरक्रियामा सरोकारवालाले लक्षित वर्गसम्मै पुग्ने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले दिवसको अवसरमा गरिने कार्यक्रम सहरभन्दा पनि ग्रामिण केन्द्रित हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा निवर्तमान जनप्रतिनिधि नवराज लामिछाने, महिला अधिकारकर्मी शुष्मा गिरी, सामाजिक अभियान्ता युवा करारा, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतले मार्च ८ मा मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सफल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले नगरले श्रमिक महिलाको सम्मानसहित, मिडियासंगको अन्तरक्रिया, ओरेक संगको सहकार्यमा प्रविधिमा महिला पहुँच विषयक लगायतका कार्यक्रम गरिने बताउनुभयो उहाले बेस, सिड, ओरेक लगायतका संघ–सस्थाको सहकार्यमा कार्यक्रमलाई सफल बनाउने बताउनुभयो ।