२०८१ चैत्र ४ गते सोमवार

नक्कली महको विगविगी दङ्गाली महले पाएन वजार

यसै वर्षभित्र ३ सय घार पु्याउने लक्ष्य


पहेंलो फुलेको तोरी । तोरी बारीको छेउमा सेतै मौरीका घार छन् । मौरीको भुनभुन आवाजसँगै मह निकाल्नै व्यस्त छन् नारायण पौडेल र उहाँको परिवार । तुलसीपुर–७ मोतिपुर निवासी पौडेल परिवार नै व्यवसायिक रूपमा मौरीपालनमा व्यस्त छ । पौडेलको माहुरी अहिले तुलसीपुर–१९ बिजौरीमा चरनका लागि छन् ।

सोमबार पनि पौडेल परिवार नै माहुरीको मह निकाल्नै व्यस्त भेटिनुभयो । ‘अहिले तोरी फूलेको समय भएकाले पनि अहिले मह निकाल्न भ्याई नभ्याई छ ।’ नारायणले भन्नुभयो– ‘तोरी फुलेको बेलामा १५-२० दिनभित्र मह निकाल्न सकिन्छ ।’

२०६० सालदेखि मौरीपालन व्यवसाय सुरू गरिरहेका पौडेलसँग अहिले मौरीका २५० घार छन् । सुरूवातमा पाँच घारबाट माहुरीपालन व्यवसाय सुरूवात गरेका पौडेलसँग पछिल्लो समय ठूलो संख्यामा माहुरीका घार छन् ।

‘अहिले मसँग २५० मौरीका घार छन्, सुरूवामा पाँच घारबाट मौरीपालन सुरूवात गरेको हुँ’ उहाँले भन्नुभयो – ‘अहिले यसैबाट आफूसँगै अरूलाई पनि रोजगारी दिन सकेको छु ।’ पौडेलको योजना यसै वर्षभित्र माहुरीका घार ३ सय बनाउने छ । सुरूमा प्रतिघार ४ हजार ५ सय लगानी गरेर पाँच घारबाट मौरीपालन व्यवसाय सुरूवात गरेका पौडेललाई निकै चुनौती भयो तर पछिल्लो समय मौरीका घार बढेपछि व्यवसाय चलाउन सहज भएको अनुभव उहाँले बताउनुभयो।

‘कम्तिमा ५० घारबाट मौरीपालन व्यवसाय सुरूवात गरेपछि सहज हुँदोरहेछ’ उहाँले भन्नसुभयो– ‘मैले पाँच घारबाट सुरूवात गरेको बढाउन समय लाग्यो, त्यसपछि फेरि थप ४० घार मौरी किनेर व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गरेको हुँ ।’
उहाँले वार्षिक करिब ६० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार प्रतिक्विन्टल ३० हजारमा बिक्री गर्दा वार्षिक रूपमा १८ लाख आम्दानी हुने गरेको छ । महको बजारीकरण सहज नभएको उहाँले बताउनुभयो । ‘महको बजार गत वर्षबाट केही खस्किएको छ ।’

उहाँले भन्नुभयो– ‘प्रतिकिलो ४५० मा बिक्री हुने मह अहिले सरदर ४ सयमा प्रतिकेजी बिक्री सहजै हुँदैन्’ उहाँले ‘र’ हनि बिक्री गरिरहनुभएको छ । ‘मह जमेको छ भने चिनी मिसाएको आशंका गरिन्छ, यसैलाई र हनि भनिन्छ’ उहाँले भन्नुभयो– ‘जमेको मह शुद्ध हुन्छ, यो कुरा दाङका उपभोक्ताले बुझ्नुभएको छ, जिल्ला बाहिर अझै पनि विश्वास दिलाउन समस्या छ ।’

भारतीय महको आयातका कारण पनि नेपाली मह बजारीकरणमा समस्या भएको उहाँले दुखेसो पोख्नुभयो । ‘भारतबाट नक्कली मह बजारमा छ्यापछ्याप्ती पाइन्छ’ उहाँले भने– ‘यसकारण पनि नेपाली महको मार्केट बिगे्रको छ ।’ उहाँले गतवर्षको महसमेत भण्डारण गरेर राखेको बताउनुभयो ।

‘मह भण्डारण गरेर राख्दा बिग्रिदैन्’ उहाँले भने– ‘मसँग गत वर्षको करिब एक क्विन्टल मह छ ।’ महको बजारीकरणका लागि नेपाली महको प्रचारप्रसार पनि हुन नसकेको उहाँले बताउनुभयो । नेपाली महको गुणस्तर राम्रो भएपनि आयातित मह नामले मात्रै पनि बिक्री भएको उहाँको गुनासो छ । ‘नेपाली महको गुणस्तर अरू आयातीत महभन्दा धेरै छ’ उहाँले भन्नुभयो– ‘तर बजारमा बाहिरको महले बर्चश्व कायम गरेको छ ।’

माहुरीपालनबाट घरको तीनजनासँगै अरूलाई पनि रोजगारी दिन सफल भएको पौडेल बताउँनुहुन्छ । ‘मह निकाल्नका लागि दैनिक ७÷८ जना जनशक्ति लाग्ने गरेका छन् । फर्ममा दैनिक ज्यालादारी भएपनि वार्षिक करिब तीन सयजनाले रोजगारी पाउने गरेका छन् ।’

मह निकालेर प्रशोधन गर्न जनशक्ति धेरै लाग्ने गरेको उहाँले बताउनुभयो । ‘अरू समयमा जनशक्ति थोरै भएपनि हुन्छ, मह निकाल्दा जनशक्ति धेरै लाग्छ’ उहाँले भन्नुभयो–‘यसबाटै भएपनि रोजगारी दिन सफल भएको छु ।’ उहाँका छोरा शरद बिएसी एग्रीकल्चर अध्ययन पूरा गरेर माहुरी व्यवसायमा छन् ।

‘घरमा माहुरी छ, यसलाई अझै व्यावसायिक रूपले अगाडि बढाउन अध्ययन पनि गरेको छु’ शरदले भन्नभयो– ‘अहिले काठमाडौँमा पढाइसँगै महको बजारीकरण पनि गरिरहेको छु, घरमा आएको बेलामा माहुरी चराउनेदेखि मह काढ्ने सबै काम गर्छु ।’ कार्तिक र मंसिरमा दाङ मौरी चरनका लागि उत्तम भएपनि अन्य समयमा जिल्ला बाहिर मौरी चरनका लागि लैजाने गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार