तुलसीपुर, २७ फागुन ।
तुलसीपुर–४ माथिल्लो हलवार टोल विकास संस्थाको सिमाना बाघ ढुंगामा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । प्रदेशद्वारको उद्घाटन समाजसेवी गगन बहादुर रानाले गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बागवानी टोल निवासी समाजसेवी रानाका छोरीहरु प्रिया राना मगर र प्रियांका राना मगरको करिब ९० हजारको सहयोगमा स्वागतद्वार निर्माण गरिएको हो ।
साविकको हलवार गाविसको नामाकरण भएको टोललाई चिनाउन प्रवेशद्वार निर्माण गरिएको निर्माण समन्वय समितिका संयोजक कृष्ण बहादुर बस्नेतले बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष बसन्त बहादुर पुनको अध्यक्षता तथा समाजसेवी रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिने भन्दै आगामी दिनमा पनि यस किसिमका सामाजिक काममा आफू संधै सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यसअवसरमा सहयोगीदातालाई दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष मित्रलाल वस्नेत,निवर्तमान उपाध्यक्ष मनकुमारी चौधरी, निवर्तमान कोषाध्यक्ष उर्मिला रोका दाहाल, निवर्तमान सदस्यहरू हरि बहादुर खड्का, उन्नती बुढा, जानका घर्ती, ज्येष्ठ सदस्य तथा सेवानिवृत शिक्षक केशव कुमार आचार्य, बिनोद आचार्य लगायत स्थानीयको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रवेशद्वार निर्माणमा सहयोग गर्ने सहयोगी दातालाई स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।
संस्थाका निवर्तमान सह–सचिव शंकर चौधरीले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण बसन्त पौडेलले गर्नुभएको हो ।