दाङ,२८ फागुन।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि निष्काशन गरेको शेयरमा करिब ८ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ वजेसम्ममा ७ लाख ८२ हजार २२९ जना आवेदकबाट ९३ करोड १७ लाख ६७ हजार रुपैयाँ बराबरको ९३ लाख १७ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो ।सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको २।१८ गुणा बढी हुन आउँछ ।
कम्पनीले जारी पूँजीको ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ९९ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ९९ लाख ९७ हजार ५०० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये १६ लाख ६६ हजार २५० कित्ता शेयर आयोजना तथा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई, ३३ लाख ३२ हजार ५०० किता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ । बाँकि रहेको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये पनि १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३७ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले फागुन ३० गतेसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।