तुलसीपुर,२९ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ताको लागि २४ करोड बढि रकम खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २४ करोड २७ लाख ५६ हजार ८ सय ६३ रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ ।
पंजिकरण शाखा प्रमुख कृष्ण ओलीका अनुसार सामाजिक सुरक्षा भत्ताको लागि पालिकाबाट प्रथम त्रैमासिकमा ११ करोड ८५ लाख २० हजार ४९ रुपैंया, दोस्रो त्रैमासिकमा १२ करोड ४२ लाख ३६ हजार ८ सय १४ रुपैंया गरी चालु वर्षको ६ महिना सम्म २४ करोड २७ लाख ५६ हजार ८ सय ६३ रुपैयाँ खर्च भएको हो ।
सामाजिक सुरक्षा भत्ता लिनेमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, महिला, शारिरीक अपाङगता भएका व्यक्ति, दलित बालबालिका भत्ता र लोपउन्मुख समुदाय रहेका छन् ।
पालिकामा गत वर्षको तुलनामा चालुवर्षको दोस्रो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङख्या पनि बढेको छ । नेपाल सरकारले यस वर्षदेखि ६८ वर्ष भन्दा माथिका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि भत्ता लिनेको संख्या बढेको छ ।
सामाजिक सुरक्षा भत्ताले आर्थिक रुपमा सम्पन्न भन्दालाइृ विपन्न वर्गकालाई सहयोग गरेको प्रमुख ओलीले बताउनुभयो ।
हाल तुलसीपुरमा जेष्ठ नागरिक भत्ता लिने मात्रै ६ हजार ७ सय ५ जना रहेका छन् । त्यस्तै दलित जेष्ठ नागरिक भत्ता लिने ८ सय ३८, ६० वर्ष भन्दा माथिका एकल महिला १ हजार २ सय ६० , विधुवा भत्ता लिने २ हजार ४ सय ४७, दलित बालबालिका भत्ता लिने १ हजार ६ सय ३६ जना रहेको छन् ।
यसैगरी क वर्गका शारिरीक अपाङगताको सङख्या २ सय ४७, ख वर्गका ५ सय ५९ र अल्पसङख्यक र लोपउन्मुख जातिको सङख्या १० जना रहेको छ ।
तुलसीपुरमा गत वर्षमा १२ हजार ३ सय ६६ जना रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १ हजार तिन सय ३७ जनाले बढेको तुलसीपुर पञ्जिकरण शाखा प्रमुख कृष्ण ओलीले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक सम्म सामाजिक सुरक्षा भत्ता लिनेको सङख्या १३ हजार ७ सय ३ जना रहेको ओलीले जानकारी दिनुभयो ।।

