२०८० फाल्गुन १३ गते आइतवार

बजारमा खुलेआम उपभोक्ता ठगि हुँदा पनि नियामक निकाय गम्भिर हुन सकेन



तुलसीपुर,१ चैत ।
तुलसीपुरमा मा आज(बुधबार) विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गरिएको कार्यक्रममा सरोकारवालाले उपभोक्ता अधिकार सुरक्षित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् ।

बजारमा खुलेआम उपभोक्ता ठगि हुँदा पनि नियामक निकाय गम्भिर हुन नसकेको उनिहरुको आरोप छ । मूल्यमा एकरुपता हुन नसकेको, मूल्यमा अनविज्ञता हुने गरेको , अखाद्यवस्तु बिक्रिवितरण हुने गरेको लगायतका समस्या बजारमा विद्यमान हुँदा पनि नियमन हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।

दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको बताएका छन् । उपभोक्ता अधिकारकर्मी तथा व्यवसायी संगित बस्यालले बजार अनुगमन अहिलेसम्म औपचारितामै सिमित हुने गरेको बताउनुभयो ।

उहाँले भत्ता मात्रै खर्च हुने अनुगमनले उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम पि न्यौपानेले अस्पतालको नियमन फितलो बनेको बताउनुभयो ।

उहाँले तुलसीपुरमा फार्मेशी नपढेकाले औषधि खुलेआम बिक्रि गर्ने गरेको समाचार संचारमाध्यममा आउँदा पनि कार्बाही हुन नसकेको गुनासो गर्नुभयो । मानवअधिकारकर्मी शुसिल बस्नेतले बजारमा देखिएको व्यवसायीको मनपरीतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगरप्रमुख टिकाराम खड्काले उपभोक्ता अधिकार सुरक्षित गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले मात्रै बजारलाई व्यवस्थित गर्न नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा आउने वस्तुको गुणस्तरमा उपभोक्ता सचेत बन्नुपर्ने बताउनुभयो । बिक्री गर्ने व्यवसायी र खरिद गर्ने उपभोक्ता दुवै जना गुणस्तरको बारेमा जानकार नहुँदा पनि स्वास्थ्य माथि गम्भीर खेलवाड भएको उहाँको भनाई छ ।

त्यस अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले व्यवसायीको सिमित स्वार्थका कारण उपभोक्ता अधिकार हनन हुने गरेको बताउनुभयो । उहाँले बजारलाई सभ्य बनाउन ऐन, नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मिनराज भण्डारीले खाद्यवस्तुको बिक्रीवितरण र उपभोगबारे उपभोक्ता र व्यवसायीलाई सजक बनाउने गरेको बताउनुभयो ।

जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी उपभोक्ता अधिकारबारे सचेतना वडास्तरमा राखिनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार