२०८० मङ्सिर २२ गते शुक्रवार

अस्थायी प्रहरी पोष्ट पर्सेनी आफ्नै भवनमा स्थानान्तरण



तुलसीपुर, ३ चैत ।
अस्थायी प्रहरी पोष्ट पर्सेनी आफ्नै भवनमा सरेको छ । तुलसीपुर– ७ सुन्दरवस्तीमा रहेको भवनमा अस्थायी प्रहरी पोष्टको स्थानान्तरण गरिएको हो । भाडाको घरमा संचालनमा हुँदै आएको अस्थायी प्रहरी पोष्टलाई सुन्दरवस्तीमा रहेको साविकको नगर स्वास्थ्य केन्द्रको भवनमा सरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर जिसीको पहलमा अस्थायी प्रहरी पोष्टको भवन सारिएको हो । वडाअध्यक्ष जिसीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको प्रमुख आतिथ्यता एवं प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रजिअ वैद्यले समाज र प्रहरी मिलेर शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनुभयो । उहाँले अब अस्थायी प्रहरी पोष्ट स्थायीको प्रक्रियामा गएको बताउनुभयो ।

एसपी बिरबहादुर वलीले स्थानीयको माग अनुसार प्रहरी पोष्टको स्थानान्तरण गरिएको बताउनुभयो । उहाँले ६८ वटा युनिटको रहेको बताउँदै पर्सेनीको प्रहरी पोष्टमा आवश्यक जनशक्ति थप पनि गर्ने बताउनुभयो ।

स्थानीय जोगेन्द्र विश्वकर्मा, जेष्ठ नागरिक मागप्रसाद भुषाल र ललिता कडेँलले वस्तीको बिचमा प्रहरी पोष्ट हुँदा नागरिकले शान्ति सुरक्षाको अनुभुति गर्न पाएको बताउनुभयो । अस्थायी प्रहरी पोष्टलाई स्थायी बनाउनुपर्ने स्थानीयको माग छ ।

कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले गर्नुभएको हो ।।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार