२०८१ भाद्र २२ गते आइतवार

तुलसीपुरको सार्वजनिक सुनुवाईः लक्ष्यअनुरुप राजस्व संकलन नहुँदा समस्या



 

दाङ, ६ चैत ।
तुलसीपुर उपमहानगरमा भएको अत्यधिक ईन्धन खर्च देखि विकास निर्माणमा सरोकारवालाले चासो देखाएका छन् ।

आज भएको नगरको सार्वजनिक सुनुवाई कार्यक्रममा एकमहिनाको अबधिमा उपमहानगरले खर्च गरेको ३२ लाखको ईन्धन र उपमहागरकै दुर्गम स्थानका सडकको दुराबस्थाको प्रशंगले स्थान पाएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुुनुवाई कार्यक्रममा बोल्ने वक्ताले विकास निर्माणलगाएतमा मितब्ययीता नअपनाईएको बताएका हुन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताले आफु उपमहानगरमा बसोबास गर्दै आएको भएपनि विकास निर्माणमा पछाडी पर्दा आफु कुनै कर्णालीको पनि दुर्गम स्थानमा बसिरहेको जस्तो महसुस हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले केहिसमय अगाडी सञ्चारमाध्यममा आएको उपमहानगरले एक महिनामा ३२ लाखको ईन्धन खपत भएको समाचार प्रकाशन र प्रसारण भएको प्रति ध्यानाकर्षण जनाउदै बास्तबिकता बुझेर अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै उपमहानगर भित्रका क्षेत्रमा पनि सडक उचित तरिकाले बिस्तार हुन नसकेको भन्ने जिज्ञासामा उपमहानगरमा चालु आर्थिक बर्षको हालसम्म लक्ष्यअनुरुप राजस्व संकलन नहुँदा समस्या भएको बताउनुभयो । उहाँले उपमहानगरको आर्थिक समस्या छिट्टै समाधान हुने र विकास निर्माणले समेत गति लिनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय प्रदेश तथा केन्द्र सरकारले उचित तरिकाले समन्वय नगर्दा पनि विकास निर्माणमा प्रभाब परेको बताउनुभयो । उहाँले मुलुकको पछिल्लो बढ्दो राजनितीक समिकरणले पनि विकास निर्माणमा असर गरेको बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक खुमानन्द अधिकारीले जेष्ठ नागरिकलाई दिवा सेवा कार्यक्रम ल्याउन, जेष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडा तहबाटै वितरण गर्नेलगाएतका ब्यबस्था मिलाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दा स्वास्थ्य स्वयंसेबिका अगाडी सर्ने भएपनि नगरले उचित स्थान दिन नसकेको, सरकारलाई कर तिरेअनुसारको विकास निर्माण नभएको लगाएतका गुनासो गरेका हुन् ।

उपमहानगरका सुचना अधिकृत बाबुराम न्यौपानेले कार्यक्रमको विषयबस्तु माथि प्रकाश पार्नुभएको हो । कार्यक्रममा बोल्ने वक्ताले राखेका जिज्ञासाको सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ दिएका हुन् ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार