
दाङ, ७ चैत ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आदि कालमा चलेका परम्परा अहिले पनि मानिसले पछ्याई रहेको बताउनु भएको छ । दलित समुदायका मान्छे आज पनि मान्छे भएर बाच्न नपाएको उहाँले बताउनुभयो । जन्मको आधारमा तँ सानो म ठूलो भन्ने जात छुट्याउने गरेको भन्दै दलित समुदाय पीडित भएर बाचेको बताउनुभयो ।
देशमा सबै कुराको कानुन भएपनि व्यबहारमा लागू हुन नसकेको बताउनुभयो । नेपाली समाजले प्रगति गर्नको लागि अझै समय लाग्ने भन्दै जब सम्म कुन जात, कुन कुल र समुदायमा जन्मियो भनेर खोज्न छोडिन्छ तब मात्र समाज परिवर्तन हुने बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय जातीय छुवाछूत भेदभावका विरुद्ध प्रतिरोध गरौःसंबैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गरौ’ भन्ने नारा सहित ५८ औं अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवसमा उहाँले दलित जात, बर्ग नभएर समाजले सोचेको विरामीपन भएको बताउनुभयो ।
अधिकारकर्मी निर्मल नेपाली, युवा करारा, शुष्मा गिरी, नवराज लामिछाने, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष साबित्रा विश्वकर्मा, एकीकृत समाजबादी नगर कमिटी तुलसीपुरका अध्यक्ष शिव परियारले सीप र कला भएका दलित समुदायलाई अछुत भनी तल्लो दर्जा दिएको बताएका छन् । जातीय विभेदको अन्त्यको घोषणा गर्ने मात्र नभएर छुवाछूतलाई निर्मूल पार्नुपर्ने बताएका हुन् ।
उनिहरुले जबसम्म जातीय छुवाछूत व्याबहारीक रुपमा हट्दैन तबसम्म सचेतनाका कार्यक्रमले मात्रै परिवर्तन नहुने बताएका छन् । जातीय विभेद समाजको बाधक भएको भन्दै विकास निमार्णमा पनि यसले असर पु¥याएको उनिहरुको भनाइ छ । छुवाछूत दलित समुदायको मात्र नभएर सबैको साझा समस्या भएको भन्दै राज्यबाट नै यसको समाधान हुनुपर्ने बताएका छन् ।
यस्तै नेकपा एमाले तुलसीपुरका नगर सचिव रुपबहादुर खत्री, नेपाली काग्रेसका इश्वरी सुनार, तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर उपप्रमुख स्यानी चौधरी, पत्रकार सुशील बस्नेतलगायतले छुवाछूतको अन्त्यका लागि शिक्षा र सचेतना आवश्यक रहेको बताएका छन् । समाजमा रहेका विभेदकारी नियमलाई कागजमा सिमित नबनाई व्यबहारमा लागू गर्नुपर्ने बताएका छन् ।
जातीय विभेद घट्नुको सट्टामा बढेको भन्दै यसलाई निर्मूल पार्न दलित र गैर दलित एक हुनुपर्ने बताएका हुन् । जातीय विभेद अन्त्यका लागि दलितले मात्र बोल्नु भन्दा पनि स्थानीय तहले दलित समुदायका लागि काम गर्नुपर्ने बताएका छन् । छुवाछूत र भेदभाव समाजमा अहिले पनि व्याप्त रहेको भन्दै तीन तहका सरकारले यसमा भुमिका खेल्नु पर्ने बताएका छन् ।
त्यस अबसरमा अधिकारकर्मी जोगिन्द्र विश्वकर्माले दलित र गैर दलितले सयुक्त भोजको आयोजना गरेर हेर्दा मात्र पनि कति छुवाछूत छ भन्ने कुरा थाहा हुने बताउनुभयो । लुम्बिनी प्रदेशका सांसद रेखा शर्माले समाजमा रहेको जातीय छुवाछूत अन्त्य गर्न एउटा लडाई आवश्यक रहेको बताउनुभयो । जातिय छुवाछूत अन्त्यका लागि आफुले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ दलित सदस्यहरु, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, पत्रकार, सारङ्गी पेसाकर्मी, बाध्यबादनकर्मी लगायतलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका केन्द्रिय अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ र कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गर्नु भएको हो ।