२०८१ असोज २७ गते आइतवार

क्षमता अभिवृद्धि गरेर काम गर्नुस्: अध्यक्ष विश्वकर्मा



दाङ, १० चैत ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित महिला जनप्रतिनिधिलाई आफ्नो क्षमता अभिवृद्धि गरेर काम गर्न अनुरोध गर्नु भएको छ ।

जनप्रतिनिधिको काम स्थानीय तहको ऐन अन्तरर्गत भएको भन्दै अध्ययन गर्न सुझाव दिनुभएको हो । वडा सदस्यहरु हरेक बिषयमा जानकार हुनुपर्ने भन्दै शिक्षा, स्वास्थ लगायतका क्षेत्रमा विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले मानिसको चेतनास्तर कम भएकाले व्यबहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयोे । समाजमा दलित भएकै कारण हेपिनु पर्ने अवस्था अहिले पनि रहेको भन्दै आफुमा आट र विश्वास राखेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय दलित कल्याण संघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले दलित समुदायतालाई दिएको कोटा कसैको माया दयाले नभएर दलितहरुको त्याग र बलिदानले प्राप्त गरेको बताउनुभयो । दलित समुदायको धेरै संघर्ष पछि मात्र यो उपलब्धि देखा पर्न थालेको बताउदै उहाँले दलित समुदायको लागि छुट्टै बजेट छुट्याउन आग्रह गर्नु भएको छ । दलित र गैर दलितलाई एक ठाउँमा राखेर सचेतना मुलक कार्यक्रम गर्न पनि जनप्रतिनिधिलाई सुझाव दिनुभयो भएको छ ।

कार्यक्रममा ९ नम्बरका दलित वडा सदस्य दिलकुमारी दमाईले छुवाछूतको शैली परिवर्तन भएको तर छुवाछूत अझै रहेको बताउनुभयो । कार्यपालिका सदस्य गौरी नेपाली, यमुना परियार, लक्ष्मण विश्वकर्माले दलितको अधिकारको बारे कुरा गर्दा बिबादसम्म भएका घटना भोगेको बताएका छन् । दलित समुदायले अहिले पनि धेरै विभेद खेप्न बाध्य भएको बताएका हुन् ।

७ नम्बर वडाका निवर्तमान दलित महिला सदस्य सारदा सुनारले संविधानले व्यवस्था गरेको सुबिधा अझै पनि दलित समुदायले पाउन नसकेको बताउनुभयो । हरेक नियम कानुन कागजमा मात्र भएको भन्दै यसलाई कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

वडा नम्बर ३ का सदस्य डिलमाया नेपालीले दलित समुदायमा शिक्षाको कमिका कारण पनि सोचेजती प्रगति हाँसिल गर्न नसकेको बताउनुभयो । आशा कुमारी नेपालीले जात थाहा नहुँदासम्म गरिने व्यबहार र थाहा पाईसकेपछि गरिने व्यबहारले छुवाछूत कमि नभएर झनै बढेको बताउनुभयो । यस्तै कमला बिक, निमा सार्की, सीता स्वर्णकार, बेलमती परियार, सरु सुनार, प्रभा परियार, मिना रैदास, रेवती बिक, पार्वती कामी लगायतले हरेक कामको ज्ञान् सीप भएका दलित समुदायलाई अहिले पनि समाजले अछुत भनी अपहेलना गर्ने गरेको बताएका छन् । पछिल्लो समय दलित समुदायले आफू माथी हुने विभेद सहन नसकेर थर बदल्ने गरेको बताएका छन् ।

दंङ्गीशरण गाउँपालीका सितारा नेपालीले दलित समुदायका नीति नियमलाई व्यबहारमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले दलित समुदायलाई हेरिने दृष्टिकोण परिवर्तन अबका जनप्रतिनिधिले गर्नुपर्ने बताउनुभयो । सो अबसरमा पत्रकार रमा नेपाली, मदन मुस्कान बिक, दलित नागरिक समाजका संयोजक छवि परियारले दलित महिला जनप्रतिनिधिले काम गर्दा भोगेका समस्या सबैका लागि साझा हो भन्ने नबुझ्दा सम्म कुनै परिवर्तन नहुने बताउनुभयो । दलित जनप्रतिनिधिले दलितका लागि मात्र नभएर गैर दलित समुदायको हक हितका लागि काम गरेको बताएका हुन् ।

समग्र विकासको अवरोध, जातीय विभेद भन्ने नारा सहित स्थानीय तहमा दलित महिला जनप्रतिनिधिहरुको भुमिका र अनुभव आदानप्रदान कार्यक्रम तुलसीपुरमा भएको हो । दलित महिलासंघ दाङको आयोजनामा कार्यक्रम भएको हो ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यता एंव दलित कल्याण समाजका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माको विशिष्ट आथिथ्यतामा कार्यक्रम भएको हो ।

दलित महिला संघका कोषाध्यक्ष  दुर्गा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा विश्वकर्माले गर्नु भएको हो ।।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार