२०८१ मङ्सिर २३ गते आइतवार

प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध मुख्यमन्त्री गिरी



दाङ, चैत २० ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
‘हामीले आफै गरिखाने शिक्षामा जोड दिनुपर्दछ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ’, उहाँले भन्नुभयो । पछिल्लो समय विदेशीने विद्यार्थीहरुको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गिरीले माटो सुहाउँने खालको सीप प्रदान गर्नका लागि शिक्षालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।


लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शिक्षालय भवनको अवलोकन गर्दै गिरीले अन्य आवश्यक संरचना निर्माण लगायतका कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना काम गरेको बताउँदै मुख्यमन्त्री गिरीले शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्यले शिक्षालयका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार