२०८१ बैशाख ५ गते बुधवार

दाङमा एसइइ दिने छात्रा माथि शिक्षकबाट करणी



दाङ, २२ चैत ।
दाङमा शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । शान्तिनगर गाउँपालिका वडा नंम्बर ७ को शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेका छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।

अस्ती सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्राबि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पीडितले मंगलबार जाहेरी दिएका हुन् ।

साथै पीडित बालिकाको अबस्था सामान्य रहेको छ । बालिकाकोे हिजोनै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताउनुभयो । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छन् ।।

 

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार