२०८२ बैशाख ८ गते सोमवार

समाज परिवर्तनको प्रमुख संवाहक हो : उपकुलपति लामिछाने



दाङ, २५ चैत ।
नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति यादव प्रसाद लामिछानेले साहित्य समाज परिवर्तनको प्रमुख संवाहक भएको बताउनु भएको छ । साहित्यले समाजको चित्रण गर्ने हुँदा साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरको २३ औं साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै उपकुलपति लामिछानेले समाजको हरेक गतिविधिहरुलाई साहित्यिक रचनाबाट परिवर्तन गर्न सहज हुने बताउनुभयो ।

उहाँले साहित्यकारलाई राज्यले प्रोत्साहान नगरेको समेत बताउनुभयो । समय सापेक्ष समाजलाई विविध क्षेत्रबाट अगाडी बढाउन साहित्यको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उहाँले राम्रा गतिविधिहरुको वकालत तथा गलत प्रवृत्तिहरुको खबरदारी गर्ने साहित्यीक गतिविधिलाई स्थानीय सरकारले समेट्नुपर्ने बताउनुभयो ।

साहित्यकार खगराज न्यौपाने देशमा राणा शासनको विरुद्ध पनि विभिन्न स्रष्टाहरुले साहित्यको माध्यमबाट बिगुल फुक्ने गरेको स्मरण गर्नुभयो ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतम ‘श्रीधर’को अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा साहित्यकार काशीनाथ न्यौपाने, मेघलाल केसी, जोशिमा कँडेल, इलामका साहित्यकार एकल गोगने अर्जुन कुमार न्यौपाने, नवराज रजौरे, रामहरी रिजाल, भवानी न्यौपाने भावना, सुनसरीका साहित्यकार देवी प्याकुरेल, काठमाडौँका साहित्यकार डा। काशीनाथ न्यौपाने, हिरामणि दुखी, अर्जुन पौंडेल , इन्द्र केसी लगायतकाले आफ्नो रचना राख्नु भएको छ ।

त्यस अवसरमा साहित्यकार मेगलाल आत्रेय केसीको ‘सुपुस्पका बिज पुस्तक’ विमोचन भएको छ । पुस्तकको समीक्षा श्रीधर शर्माले गर्नु भएको हो । कार्यक्रम मा २३ जना स्रष्टाहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रगति प्रतिवेदन डिल्ली रेग्मी तथा आर्थिक प्रतिवेदन श्रीधर शर्माले गर्नु भएको हो । साहित्यकार तिलक न्यौपानेको स्वगत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शेशमनी रिजालले गर्नु भएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार