तुलसीपुर, २७ चैत ।
धेरैजसो कार्यक्रममा अतिथीलाई दिने व्याज कागजमा रिबनको फुर्का हुन्छ । तर तुलसीपुर होटल व्यवसायी समितिले अतिथीलाई दिने व्याजको लागि पिपलको पात प्रयोगमा ल्याएको छ ।
स्थानीयस्तरमा पाइने पिपलको पात वातावरणमैत्री हुने भएकाले पनि कार्यक्रममा अतिथीलाई व्याजको रुपमा पिपलको पात र फूलको प्रयोग गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताउनुभयो ।
‘पिपलको पात सहजै पनि पाइन्छ, आर्थिकरुपमा बढ्ने खर्चको व्ययभार पनि कम गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो -‘आगामी दिनमा पनि तुलसीपुर होटल व्यवसायीले कुनै पनि कार्यक्रममा व्याजको रुपमा पिपलको पात प्रयोगमा ल्याउने छ ।’
होटल व्यवसायी समितिले सोमबार नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा पिपलको पात व्याजको रुपमा प्रयोग गरेको हो ।
बजारमा पाइने व्याजमा खर्च पनि धेरै हुने भएकाले पनि पिपलको पात प्रयोग गरेर खर्चमा मितव्ययिता अपनाएको अध्यक्ष बस्नेतले बताउनुभयो । प्लाष्टिक र कागजको व्याजमा हुने खर्च कटौति गरिएको उहाँको भनाई छ । समितिले व्याजमा मात्रै होइन्, नास्तामा समेत स्थानीय रैथाने बालीको प्रयोग गरेको छ । समितिले सोमबार तुलसीपुरमा गरेको कार्यक्रममा कार्यक्रमका अतिथीलाई कोदोको पुवा, आलु र भांगाको अचार अनि मोही दिएको थियो ।
स्थानीयस्तरमा पाइने रैथाने बालिको प्रयोग गरी खाजा बनाएको सचिव तुफान केसीले बताउनुभयो । ‘स्वादमा नमिठो होला, तर स्वास्थ्यका लागि हित हुने रैथाने नास्ताको प्रयोग गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘यसअघि रैथाने खानाको महोत्सव पनि संचालन गरेका थियौँ, अहिले पनि कार्यक्रममा कोदोको पुवासहित आलु र भांगाको अचार अनि मोही खुवाएका छौँ ।’