२०८० फाल्गुन १३ गते आइतवार

निर्माण रोकिएको अस्पतालको लागि जग्गा प्राप्तीको प्रक्रिया शुरु



सल्यान, ३ बैशाख ।

सल्यानको कपुरकोट गाउँपालिकाले निर्माण रोकिएको अस्पतालको काम अघि बढाएको छ । गाउँपालिकाले अस्पताल निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

एक पालिका एक अस्पताल सरकारको नीति अनुसार कपुरकोट गाउँपालिकामा पनि १५ शैयाको अस्पताल निर्माण हुँदैछ । अस्पतालका लागि १२ करोडमा भवन निर्माणको काम २०७७ सालदेखि रोयल कन्ट्रक्सनले शुरु गरेको थियो ।

तर विस्तृत परियोजना ९डिपिआर० स्विकृत नभई भवन निर्माण थालिएकोले पछिल्लो एकवर्ष देखि भवन निर्माण कार्य रोकिएको छ । डिपिआर अनुसारको जग्गा प्राप्तीका लागि गाउँपालिकाले प्रक्रिया अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

‘डिपिआर अनुसारको जग्गा नभएपछि अस्पतालको भवनको निर्माण एक वर्ष अघि देखि रोकिएको छ ।’ उहाँले भन्नुभयो -‘१५ शैयाको अस्पतालको लागि ७ दशमलव २ रोपनी जग्गा अनिवार्य आवश्यक पर्ने रहेछ, त्यसका लागि स्थानीय बनको जग्गा प्राप्त गर्न प्रक्रिया अघि बढाएका छौँ ।’

यसअघि २ रोपनी पनि नपुगेको जग्गामा अस्पतालको भवन निर्माण कार्य शुरु गरिएको उहाँले बताउनुभयो । ‘१ दशमलव ८८ रोपनी जग्गामै अस्पतालको भवन निर्माण शुरु गरिएको रहेछ ।’ उहाँले भन्नुभयो-‘अहिले भवनको काम अघि बढ्दै गर्दाखेरी भुक्तानी लिन खोज्दा समस्या आएको हो ।’

अस्पतालको भवन निर्माणको काममा करिब चार करोड खर्च भइसकेको छ । अस्पतालको भवन रहेको ठाउँ नजिकमा बन क्षेत्रमा पर्छ । बनको जग्गा प्राप्त गर्न शुरुमा वातावरणिय प्रभाव मूल्यांकन गर्नुपर्ने र त्यसका लागि प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । ‘आइई अर्थात वातावरणिय प्रभाव मूल्यांकनको शुरुको चरणमा सार्वजनिक सुनुवाई पनि गर्नुपर्ने रहेछ, यो काम गत वर्ष चैत ३० गते नै गरिसकेका छौँ ।’ उहाँले भन्नुभयो(‘अब जग्गा प्राप्तीको लागि प्रक्रिया अघि बढेको छ ।’

प्रक्रियागत त्रुटीको कारण निर्माण कार्य रोकिएको हो । बन क्षेत्रमा पर्ने जग्गाको स्वामित्व नलिएरै अस्पतालको भवन निर्माणको काम शुरु भएको थियो । तर पछिल्लो समय अस्पतालको लागि आवश्यक पर्ने जग्गा प्राप्तीको लागि गाउँपालिकाले प्रक्रिया बढाएको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा १५ शैयाको अस्पताल निर्माण प्रक्रियामा छ । अस्पताल निर्माण भएपछि कपुरकोट गाउँपालिकासहित छिमेकी जिल्ला रोल्पाका नागरिकलाई समेत स्वास्थ्य सेवा लिन सहज हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार