
राेल्पा,१४ बैशाख।परिवर्तन गाउँपालिका-२ राङ्सीमा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ। शनिबारदेखि सुरु भएको यो स्वास्थ्य शिविर मंगलबारसम्म जारी रहनेछ। परिवर्तन गाउँपालिका पुतलाचौरको समन्वय, परिवर्तन गाउँपालिका-२ राङ्सी वडा कार्यालय, जनसेवा नमूना मावि राङ्सीको व्यवस्थापन तथा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रीटिस गोर्खाज नेपाल कास्की-१६ पोखराको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविर जनसेवा नमूना माविको प्राङ्गण, परिवर्तन गाउँपालिका-२ राङ्सीमा जारी रहेको छ।
शिविर सुरु हुनुअघि कादुरी एग्रिकल्चरल एड एसोसिएसन पोखराका कार्यक्रम निर्देशक क्याप्टेन राजन राई र सहायक ज्याम याङ्ग गुरुङ सहित करिब ३४ जना विशेषज्ञ चिकित्सकहरूको टोलीलाई परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगर, उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडाका अध्यक्ष हरिप्रसाद बुढा मगर, कादुरी एग्रिकल्चरल एड एसोसिएसन पोखरा, पहलकर्ता समाजसेवी तथा निवेदक व्यक्तिहरू, र जनसेवा नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजबहादुर विक लगायत स्थानीय आमासमूहले टीका, माला र खाँडाले स्वागत गर्नुभएको थियो। ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले स्वागत मन्तव्य राख्दै भने, “सर्वप्रथम म र मेरो गाउँपालिकाको तर्फबाट स्वागत र सम्मान व्यक्त गर्दछु। जुन उद्देश्य लिएर हजुरहरू यहाँ आउनुभएको छ, त्यसमा सफलताको शुभकामना व्यक्त गर्दछु।”
त्यस्तै, परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष हरिप्रसाद बुढा मगरले भने, “मेरो वडामा यति ठूलो नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनु ऐतिहासिक कार्यक्रम हो। परिवर्तन गाउँपालिका मात्र नभई पश्चिम रोल्पाका अन्य स्थानीय तहका नागरिकले समेत सेवा पाउनेछन्।” उहाँले भन्नुभयाे, “जसको आर्थिक अवस्था कमजोर छ, उसले स्वास्थ्य सेवाको पहुँचसम्म पुग्न सक्दैन। त्यस्ता व्यक्तिहरूका लागि यो नि:शुल्क स्वास्थ्य शिविर एक अवसर हो।”
कादुरी एग्रिकल्चरल एड एसोसिएसन पोखराका कार्यक्रम निर्देशक क्याप्टेन राजन राईले रोल्पा जस्तो ठाउँमा आएर सेवा दिन पाउँदा आफू र आफ्नो संस्थाले गर्व गरेको बताउनुभयाे।
उहाँले प्रत्येक वर्ष चारवटा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाे बताउदै याे वर्षको अन्तिम शिविर रोल्पामा गर्न पाउँदा र यहाँका नागरिकहरू सेवा लिन आएका देख्दा म अत्यन्त हर्षित भएको बताउनुभयो।
शिविरमा स्वास्थ्य सेवा लिएका परिवर्तन गाउँपालिका-२ राङ्सी डाँडागाउँका कमानसिङ रोका मगरले आफू दाँतको उपचारका लागि आएको र स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि प्राप्त गरेको बताउनुभयाे। त्यस्तै, सोही गाउँकी अर्का स्थानीय इन्द्रकुमारी घर्ती मगरले पनि शिविर राम्रो भएको प्रतिक्रिया दिँदै आफू आँखा परीक्षणका लागि आएको र नि:शुल्क चस्मा पाएको बताउनुभयाे।
शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखाको जाँच तथा मोतीबिन्दुको शल्यक्रिया, दाँतको उपचार तथा आवश्यकताअनुसार दाँत उखाल्ने, अन्य विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार, आवश्यकताअनुसार रगत, दिशा, पिसाबको परीक्षण, मुटुको ईसीजी तथा भिडियो एक्स-रे परीक्षण, चिकित्सकको सल्लाहअनुसार नि:शुल्क औषधि वितरण, साथै कादुरीद्वारा सञ्चालित विभिन्न नि:शुल्क सीपमूलक तालिमको परामर्श तथा छनोट समेत गरिएको छ।
नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिनमा कुल पाँच सय नाै जनाले सेवा लिएका छन्, जसमा पुरुष एक सय ७२ र महिला तीन सय ३७ जना रहेकाे,कादुरी एग्रिकल्चरल एड एसोसिएसन पोखराका जानकार हमबहादुर रानाले जानकारी दिनुभयाे।