२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुर-१६ लाई बालश्रममुक्त घोषणा गर्ने तयारी



 

 

दाङ, १२ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । नगरलाई नै बालश्रममुक्त पालिका घोषणा गर्ने अभियान अनुरुप वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गर्ने अभियान अघि बढेको हो ।

बालश्रम मुक्त वडा घोषणा गरी अहिले सबै बालबालिकालाई शिक्षाको पहुँच जोड्ने अभियान संचालन भइरहेको वडा अध्यक्ष शिवानन्द डीसीले जानकारी दिनुभयो । वडामा अहिलेसम्म श्रममा लागेका बालबालिकाको पहिचान तथा श्रममुक्त गरी उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउन थालिएको उहाँले बताउनुभयो ।

यसैक्रममा वडामा आर्थिक अभावका कारण विद्यालय जानबाट बन्चित रहेका बालबालिकालाई मंगलबार आर्थिक सहायता हस्तान्तरण गरिएको छ । वडाका दुई जना बालबालिकाकालाई आयआर्जनसहित प्रति परिवार १५ हजार र १५ जना बालबालिकालाई प्रतिव्यक्ति ५ हजारका दरले नगद सहयोग गरिएको छ ।

आर्थिक अभावका कारण शिक्षाबाट बन्चित हुने अवस्था आउन नदिन बालबालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो ।

युनिसेफको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले बालबालिका तथा उनीहरुका घरपरिवारलाई आर्थिक सहयोग गरेको हो । अहिले नगरलाई बालश्रममुक्त बनाउने योजना अनुरुप अहिले वडा नम्बर १६ मा आर्थिकरुपमा विपन्न बालबालिकालाई नगद सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

यसवर्ष वर्षभित्र वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने योजना अनुरुप नगद सहयोग गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । बालमैत्री नगरका लागि अहिले बालश्रममुक्त वडा घोषणा गर्ने अभियान संचालन भइरहेको उहाँले बताउनुभयो । अहिले वडा नम्बर १६ र १७ लाई बालश्रम मुक्त गर्ने करिब अन्तिम तयारीमा रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसअघि तुलसीपुरका उपमहानगरका वडा नम्बर १, २, ६ र १८ बालश्रममुक्त वडा घोषणा भइसकेका छन् । अब केहि समयमै वडा नम्बरको १६ र १७ लाई बालश्रममुक्त बनाउन अन्तिम तयारी थालिएको छ । तुलसीपुर-१६ का वडा अध्यक्ष शिवानन्द डाँगीको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा नगर उपप्रमुख स्यानी चौधरीले पाँच वर्षभित्र नगरलाई समृद्ध बनाउन सबै किसिमको समान विकास आवश्यक रहेको बताउनुभयो । नगर समृद्ध हुन सबै बालबालिका शिक्षाको पहुँचमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

अभिभावक अचेत भएपछि बालबालिका सचेत नबन्ने भन्दै उहाँले पढ्ने बातावरण निर्माण गराउन अभिभावकलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले शिक्षा र स्वास्थ लगानी कम भएको भन्दै आगामी दिनमा सामाजिक विकासमा लगानी बढाउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

बालविज्ञ नवराज लामिछानेले नगरमा बालश्रम डरलाग्दो स्थिति नभएपनि शून्य अवस्थामा नपुगेको बताउनुभयो । उहाँले नगरलाई बालश्रम मुक्त बनाएर बालमैत्री नगर बनाउनमा सहयोग गर्न आम अभिभावकलाई अनुरोध गर्नुभयो ।

नगरका शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले नगरबाट प्राप्त सहयोग सहि ठाउँमा प्रयोग हुनेमा विश्वस्त रहेको बताउनुभयो । स्वास्थ्य महाशाखाका प्रमुख ओम पि न्यौपानेले भौतिक विकाससंगै मानवीय विकास अपरिहार्य रहेको भन्दै बालबालिकालाई शिक्षामा पहुँचमा लैजानुपर्ने बताउनुभयो ।

युनिसेफका प्रकाश कैनीले सरकारसंगको समन्वयमा विपन्न बालबालिकालाई सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार