तुलसीपुर, १३ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नगरले कृषिजन्य वस्तु बजारीकरणमा सहजताका लागि परिचयपत्र अनिवार्य गर्न लागेको हो ।
भारतीय तरकारी बिक्रिलाई रोक्न र स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि नगरले परिचयपत्र वितरण गर्न लागेको हो । स्थानीय उत्पादन बिक्रिको सहजताका लागि किसानलाई परिचयपत्र वितरण गर्न थालिएको नगरका कृषि शाखा अधिकृत कुलराज चौधरीले जानकारी दिनुभयो ।
स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको हो । अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेकाले स्थानीय उत्पादनले बजार पाउन नसकेको अवस्थामा किसानलाई परिचयपत्र वितरण गर्न लागेको कृषि शाखा प्रमुख धनराज गौतमले बताउनुभयो ।
तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन् । किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् । तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन् । कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नं १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ ।