सल्यान, १५ बैशाख ।
अत्यधिक रक्तश्रावका कारण सल्यानमा एक महिनाकी सुत्केरीको मृत्यु भएको छ ।रगत बगेर विरामी भएकी कुमाख गाउँपालिका वडा नम्बर ५ कालागाउँ निवासी ३० वर्षीया गीता विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
समयमै अस्पताल ल्याउन नसक्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला अस्पताल सल्यानका इन्चार्ज एमडीजीपी डाक्टर अभिषेक सिंहले बताउनुभयो । विक एक महिनाअघि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएको थियो । १५ दिन अघि रगत बगेर समस्या भएपछि रगत चढाउँदा ठिक भएपनि केही दिनदेखि फेरि गितालाई लगातार रक्तश्राव भएको र समयमै अस्पताल पुर्याउन नसकेकै कारण उहाँको मृत्यु भएको डा.सिंहले बताउनुभयो ।
अत्यधिक रगत बगेकै कारण एक महिना अघि दार्मा गाउँपालिकाकी एक महिलाको पनि उपचार गर्न नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।