२०८१ असोज १९ गते शनिवार

राप्ती प्रादेशिक अस्पतालमा आईसीयू र भेन्टिलेटर प्रयोग विहीन



दाङ, २२ बैशाख ।
दाङको राप्ती प्रादेशिक अस्पतालमा कोरोना महामारीको समयमा सञ्चालित आईसीयू र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका छन् ।

अस्पतालको गोदाममा २० थान आईसीयू उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा रहेका हुन् । महामारीको प्रभाव कम भएसँगै आईसीयू र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका हुन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य सेवाको अवस्था र संरचनामा केही सुधार देखिए पनि सघन उपचार सेवाको अवस्था भने उस्तै छ ।

महामारीको समयमा चलेको आईसीयू र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र संरचना नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालले जनाएको छ । महामारीका समयमा अस्पतालले खरिद गरेको उपकरणहरु अहिले गोदाममा त्यसै थन्किकएका छन् । कोरोना महामारीको समयमा सरकारले ती उपकरण राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो ।

उपकरण अहिले प्रयोग विहीन हुँदा दाङवासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुु परेको छ । कतिपयले आईसीयू तथा भेन्टिलेटरको अभावमा ज्यान समेत गुुमाउनुु परिरहेको छ । उपकरण भएपनि संरचना नभएका कारण समस्या भएको छ ।

उपकरण व्यवस्थापनसँगै सरकारले उक्त उपकरणको सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दो बस्त गर्न स्थानीयले माग गरेका छन् ।

 

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार