दंगीशरण, २७ बैशाख ।
दंगीशरण गाउँपालिकाका सात वटै स्वास्थ्य सस्थाहरुबाट बुधबार आजदेखी ग्रामीण अल्ट्रासाउन्ड भिडियो एक्सरे सेवाको शुभारम्भ भएको छ । श्रीगाउँ स्वास्थ्य चौकी बागरमा भिडियो एक्सरे सेवाको उद्घाटन गरिएको हो ।
गर्भवती महिला आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न ग्रामीण भिडियो एक्सरे सेवाको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गिरीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती महिलाहरूको गर्भ जाँच गर्न घर घरमा पुगी सेवा प्रदान गर्न नर्सहरुलाइ निर्देशन दिनुभयो ।
महिला र गर्भवती महिलाको सवालमा महत्त्वपूर्ण निर्णय गरेकाले पनि आफु स्वास्थ्यको क्षेत्रमा सधै गम्भीर रहेको उहाँले बताउनुभयो । यस्तै अल्ट्रासाउन्ड उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष पिमा वली खड्काले दंगीशरणका दुर्गम भेगमा अनि भौगोलिक विकट ठाउँमा पनि अल्ट्रासाउन्ड सेवा पुग्ने भएपछि आफु धेरै खुसी भएको बताउनुभयो ।
यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष रोशन जंग शाहले प्राथमिक स्वास्थ्यकेन्द्र बागर बाट स्तरीय स्वास्थ्य सेवाका लागी आफु लागी परेको बताउनुभयो । दंगीशरण भित्रका स्वास्थ्य सस्थाहरुमा गर्भवती महिलाहरुले आफ्नो र बच्चाको अवस्थाबारे जानकारी लिन पाउने भएपछि स्वास्थ्यमा ठुलो सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।
स्वास्थ्य सस्थाको पहुचदेखी टाढा रहेका गर्भवति महिलाहरूको लागि घरमै पुगी निशुल्क सेवा प्रदान गरिने स्वास्थ्य केन्द्र बागरका डाक्टर सुगत अधिकारीले बताउनुभयो । गर्भवती भिडियो एक्सरे सेवाको मुख्य उदेस्य शिशु मृत्यु दर र मातृ मृत्युदर घटाइ दिगो विकास लक्ष्यमा सहयोग पुर्याउने रहेको उहाँले बताउनुभयो ।।