तुलसीपुर, २९ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न अदालतले अल्पकालिन आदेश गरेको छ ।
उच्च अदालत तुलसीपुरले बिहीबार उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिँदै माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न आदेश दिएको हो ।
हिमबहादुर डाँगीले दिएको निवेदनमा कायममुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले शिक्षक सरुवा तथा प्रअ नियुक्तिको कार्य रोक्न आदेश दिएको छ । साथै छलफलका लागि दुवै पक्षलाई जेठ १ गते बोलाइएको छ ।
यसअघि तुलसीपुर उपमहानगरपालिकाले प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा कार्य गरेको थियो । त्यो कार्यको कांग्रेस, माओवादी केन्द्र निकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक संघ-संगठनहरूले विरोध जनाएका छन् ।
प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार