काठमाडौँ,२९ बैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फारर रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।
रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो ।
मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेले भने । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् ।
मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
एमालेका रायमाझी भने फरार छन् ।कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ ।

