२०८१ माघ १२ गते शनिवार

तुलसीपुरका चार स्थानमा ट्राफिक सचेतना डिजिटल बोर्ड



तुलसीपुर, १ जेठ ।
तुलसीपुरका चार स्थानमा ट्राफिक सचेतना डिजिटल बोर्डको स्थापना गरिएको छ । तुलसीपुरको नयाँ बसपार्क, बिरेन्द्र चोक, गोठीखोला र जसपुरमा गरी चार स्थानमा ट्राफिक सचेतना डिजिटल बोर्डको स्थापना गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र व्यवसायी बिनिल केसीको सहयोगमा चार स्थानमा डिजिटल बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुषालले जानकारी दिनुभयो । नागरिकलाई ट्राफिक सचेतना दिन चहलपहल हुने ठाउँमा डिजिटल बोर्ड राखिएको उहाँले बताउनुभयो ।

बोर्डको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सोमबार उद्घाटन गर्नुभएको हो । नगरप्रमुख खड्काले बोर्डको उद्घाटन गर्दै सवारी दुर्घटनाबाट हुने मानविय क्षतिलाई रोक्न बोर्डले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।

यस्तै लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले सवारी दुर्घटनाको प्रमुख कारण तिब्र गति रहेको बताउनुभयो । उहाँले ट्राफिक नियमको पालना नगरी सवारी चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले ट्राफिक सचेतनादेखि हर्न निषेधमा वडाले निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता एवं नगर प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नेपाल राष्ट्रिय यातायात महासंघका सल्लाहकार तथा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले नयाँ बसपार्कमा यात्रु तान्ने प्रवृतिको अन्य हुन नसकेकोमा स्थानीय सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्नुभयो । उहाँले बसर्पाको टर्मिनल भवनलाई व्यवस्थित गराएर संचालन गर्न स्थानीय सरकारको प्रमुख दायित्व हुने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी दाङका प्रमुख किरण प्रकाश मल्लले सचेतना बोर्डले ट्राफिक व्यवस्थापनमा सहज हुने बताउनुभयो । प्रविधिको प्रयोग गरेर ट्राफिक व्यवस्थापन गर्न सकिने उहाँको धारणा छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष केशव भण्डारीले दुर्घटना महामारी बनेको बताउनुभयो । यातायात मजदुर जिम्मेवार हुन सकेपछि दुर्घटना कम हुने उहाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव शरद रेग्मीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार