तुलसीपुर, २ जेठ ।
सार्वजनिक सवारी साधन अपांगमैत्री हुन नसकेको अपांगता भएका व्यक्तिले गुनासो गरेका छन् । अपांगता भएका व्यक्तिका लागि आरक्षण सिट, ५० प्रतिशत भाडामा छुट र अपांगमैत्री व्यवहार सार्वजनिक सवारीमा पाउन नसकेको उनीहरुको गुनासो छ ।
अपांगतामैत्री भौतिक संरचना तथा यातायात सम्बन्धि अभियान संचालनका लागि राप्ती बहिरा संघ तुलसीपुरले मंगलबार तुलसीपुरमा गरेको कार्यक्रममा अपांगता भएका व्यक्तिका पक्षमा नीति नियम राम्रो बनेपनि कार्यान्वयन फितलो भएको सहभागीको गुनासो छ ।
कार्यक्रममा सुरेश बिक, क्षितिज पोखरेल, भागवता गौतम, तेज कुमारी पोखरेल लगायतले सार्वजनिक सवारीमा अपांगता भएका व्यक्तिलाई भाडामा छुटमात्र नभई चालक,सहचालकले गर्ने व्यवहारमा समेत सुधार आउन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा राप्ती बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले नेपालमा १० प्रकारका अपांगता भएका व्यक्ति रहेको बताउँदै चार प्रकारका अपांगता भएका व्यक्तिले विषेश अधिकार पाउने बताउनुभयो ।
उहाँले सार्वजनिक सवारी साधनमा आरक्षण सिट कार्यान्वयनदेखि अपांगता भएका व्यक्तिलाई सम्मानजनक व्यवहार आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कुनै पनि २५ सिट भन्दा बढी क्षमता भएका सवारी साधनमा अनिवार्य दुई वटा सिट अपांगता भएका व्यक्तिका लागि छुट्याएको बताउनुभयो ।
राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्मा र अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमकान्त कडेलले अपांगताको पक्षमा बनेका नीति कार्यान्वयनमा सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
अपांग संरक्षण ऐेन २०३९ को दफा १० को उपदफा ५ र अपांगता अधिकार ऐन २०७४ परिच्छेद ८ को बुँदा नम्बर २ मा अपांगता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट पाउनुपर्ने व्यवस्था रहेकोले कार्यान्वयनमा जोड दिन यातायात व्यवसायीलाई निर्देशक शर्माले आग्रह गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता व्यक्तिका लागि कानुनमा भएका कुरा कार्यान्वयनका लागि व्यवहारमै परिवर्तन आउनुपर्ने बताउनुभयो । उहाँल देशका अन्य ठाउँका सवारी साधनमा आरक्षण सिट कार्यान्वयन आउँदा दाङमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरिक्षक तीर्थराज भुषालले अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा आरक्षण सिट नपाउने तथा अन्य कुनै पनि समस्या भएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । अपांगता भएका व्यक्तिको अधिकार रक्षाका लागि आफु निरन्तर लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको सचिव खिम बहादुर डाँगी, नमस्ते एकता यातायात प्रालिका रोमहर्ष केसी , दाङ भ्याली यातायात प्रालिका कार्यालय प्रमुख महेन्द्र महरा, राप्ती यातायात प्रालिका कार्यालय प्रमुख हुम बहादुर परियार, सिद्ध चमेरेगुफा यातायात प्रालिका अध्यक्ष दिनाराम नेपाली लगायतले सार्वजनिक सवारीलाई अपांगमैत्री बनाउने प्रतिवद्धता जनाउनुभयो ।
राप्ती बहिरा संघका सचिव डम्बर बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीले गर्नुभएको हो ।