२०८१ माघ १२ गते शनिवार

अग्नीरेखामा बिना जानकारी डोजर चलाईयो



दाङ, ३ जेठ
गैराखाली हरियाली सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर ७ र ६ को बिशेष भेला भएको छ । वन समुहका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको भेलाले गैराखाली सामुदायिक वन र श्रीगणेश सामुदायीक वनको सिमानामा राप्ती शान्ती उद्यानको दक्षिणतर्फ रहेको अग्नीरेखामा श्रीगणेश सामुदायिक वनले गैराखाली सामुदायिक वनका पदाधिकारीलाई बिना जानकारी डोजर चलाएको बताईएको छ ।

बिना जानकारी डोजर चलाएर बाटो निर्माण गरेको जानकारी पश्चात सबडिभिजन वन कार्यालयलाई जानकारी गराई आबश्यक समन्वय तथा छलफल गर्नका लागि समन्वय गर्ने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

छलफलमा बोल्ने वक्ताले वनको यो पुरनौ समस्या रहेको भन्दै आपसी सहमती बिना छिमेकी सामुदायिक वनमा जेसीबी चलाएको प्रति आपत्ती जनाएका हुन् । छलफलमा वन समुहका पुर्व उपाध्यक्ष बुझौना चौधरीले सामुदायिक वनलाई संरक्षणका लागि गरेको पहलको स्मरण गर्दै अहिले भएको कार्यले आफु दुःखी भएको बताउनुभयो ।

वन समुहका पुर्व अध्यक्ष छोटीलाल थारुले दुईवटा सामुदायिक वनबिच पुर्व सहमती अनुसार सिमा क्षेत्रबाट डेढ डेढ मिटर अग्निरेखा निर्माण गर्ने सहमति भएपनि पूर्व सहमति विपरित बाटो निर्माण गर्नु दुखद भएको बताउनुभयो ।

बन समुहका अध्यक्ष बासुदेव आचार्यले बाटो निर्माणका लागि बन समुहलाई जानकारी आएको र समुहले पूर्व सहमति अनुसार निर्णय गरेर पठाएको बताउनुभयो । सहमति विपरित बन समुहलाई बिना जानकारी डोजर चलाएर ४ देखि ७ मिटरसम्मको बाटो निर्माण गरिएको उहाँले बताउनुभयो ।

पूर्व अध्यक्ष रुद्र वलीले बनको अग्निरेखा अवधारणालाई जबरजस्ती बाटोमा परिणत गरिएकाले तत्काल सच्याउनुपर्ने बताउनुभयो । पूर्व सचिव शुक्रराज भण्डारीले दुई सामुदायिक बनहरुको बिचमा अग्नि रेखा निर्माण गर्ने यस अघिको सहमती कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको बताउनुभयो ।

बुद्धिजीवि भरत भण्डारीले अग्निरेखाको नाममा भएको समस्या दुई बन समुह आपसि समझदारीमा समाधान गर्न सकिने , तर समहती नभए कानुनी प्रक्रियाबाट अघि बढ्न सकिने बताउनुभयो ।

सल्लाहकार जगदिश भण्डारीले बन समुहसंगको समन्वयबिच डोजर चलाउनु गलत भएको बताउनुभयो । उहाँले मिचिएको क्षेत्र सम्बन्धित बन समुहलाई जानकारी गराएर समस्या समाधान गर्ने बताउनुभयो ।

यता श्रीगणेश सामुदायिक वनका अध्यक्ष लिला बिकले भने यस बिषयमा त्यस्तो गम्भिर कुरा नभएको उल्लेख गर्नुभएको छ । उहाँले वनक्षेत्र मात्र नभएर त्यस आसपासका गाउँमा पुग्न बाटो साघुरो भएकोले बाटो चौडा गराएको  जानकारी दिनुभयो ।

उहाँका अनुसार वनक्षेत्र भित्र बाटो विस्तार गर्न जेसीबी प्रयोग गर्नुअघि गैराखाली हरियाली सामुदायिक वन समुहका पदाधिकारीसँग सहमती गरेको र सोही अनुरुप बाटो बिस्तार गरिएको हो । तर पनि दुई वन समुहबिच लिखित सम्झौता भने नभएको उहाँले स्वीकार गर्नुभयो ।

जेसीबी प्रयोग गर्दा छिमेकी वन समुहका केहि पदाधिकारीको उपस्थितीमा काम अघि बढाएको समेत उहाँको भनाई छ । उहाँ तत्काल जिल्ला बाहिर रहेको र केहि दिनमा गृहजिल्ला फर्किएपछि सम्बन्धित सबै सरोकारवाला निकायसँग छलफल गर्ने बताउनुभयो । तरपनि डिभिजन वन कार्यालयसँग निरन्तर सम्पर्कमा रहेकाले चाडै निस्कर्षमा पुग्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार