२०८० असोज ५ गते शुक्रवार

नयाँ प्रशासनिक भवनबाट काम सुरु भएपछि सेवाग्राहीलाई सहज



दाङ, ५ जेठ ।
तुलसीपुर उपमहानगरको नयाँ प्रशासनिक भवनबाट काम सुरु हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ । बिगतका दिनमा विभिन्न शाखा बाहिर हुँदा काम गर्न समस्या रहेको थियो ।

अहिले सबै सेवा एकै ठाउँबाट पाउन थालेपछि सजिलो भएको सेवाग्राही माया चौधरीले बताउनुभयो । पहिले उपमहानगरमा काम सकेर तोक लगाउनकै लागि बाहिर जानुपर्ने बाध्यता अहिले अन्त्य भएको उहाँको भनाइ छ ।

नयाँ भवन बनेसंगै यहाँबाट कामकाज सुरु भएपछि नागरिकलाई सहज भएको तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले जानकारी दिनुभयो । उहाँले उपमहानगरमा २९ वटा शाखा रहेकोमा कृषि र पशु शाखा बाहेक सबै काम उपमहानगरको नयाँ र पुरानो भवनबाट भइरहेको उहाँले बताउनुभयो ।

नयाँ प्रशासनिक भवन बनेपछि अहिले स्वास्थ्य शाखा उपमहानगरमै आएको छ । कृषि र पशु शाखा भने पहिलेकै ठाउँमा रहेका छन् । मेयर खड्कका अनुसार कृषि र पशु शाखाको लागि तुलसीपुर ९ दोघरेमा भवन निर्माण भइरहेको छ ।

पशुपन्छी बिरामी हुँदा ठाउँ धेरै चाहिने र कृषि शाखालाई पनि पशु शाखासंगै राख्नको लागि तत्काल यि दुई शाखा सार्न नसकिएको मेयर खड्काले बताउनुभयो । अब दोघरेमा भवन बनेपछि मात्रै कृषि र पशु शाखा आफ्नै भवनमा सर्ने उहाँको भनाइ छ ।

२०७६ साल जेठदेखि निमार्ण सुरु भएको प्रशासनिक भवन २०७८ जेठमा निर्माण सकिएको हो । भ्याटसहित ४ करोड ४० लाखमा भवन निर्माण सम्पन्न भएको उपमहानगरका इन्जिनियर पवन योगीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार