दाङ, ७ जेठ ।
दाङमा अझै ११ हजारभन्दा धेरै घर परिवार खरको छानामुनि रहेका छन् । राष्ट्रिय जनगणना २०७८ ले दाङमा ११ हजार तीन सय ४० घर परिवार खरको छानामुनि रहेको देखाएको छ ।
दाङमा रहेका एक लाख ६२ हजार दुई सय ६६ परिवारमध्ये ८६ हजार नौ सय २६ परिवारको घरमा जस्ता पाताको छाना छ भने ५९ हजार एक सय ३४ घरपरिवार सिमेन्टको पक्की छतमुनि, तीन हजार आठ सय नौ परिवार टायलको छानामुनि, नौ सय ५४ ढुंगा, ६६ परिवार काठ र फ्ल्याकको छानामुनि रहेको जनगणनाको तथ्याङले देखाएको छ ।
गर्मी समयमा डढेलोको उच्च जोखिम हुने खरका छाना विस्थापित गरी जस्ताले छाउने कार्यक्रमले गति नलिदा दाङमा खरका छाना अपेक्षितरुपमा घट्न नसकेको बताइएको छ । दाङको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै खरको छाना रहेको तथ्याङले देखाएको छ ।
राजपुर गाउँपालिकामा दुई हजार तीन सय ३० परिवार खरको छानामुनि रहेको पाइएको छ । गढवा गाउँपालिकामा दुई हजार एक सय ८७, घोराही उपमहानगरपालिकामा एक हजार आठ सय ८१, परिवार खरको छानामुनि रहेका छन् ।
बंगलाचुली गाउँपालिकामा रहेका पाँच हजार एक सय ३९ परिवारमध्ये एक हजार चार सय १६ परिवार खरको छानामुनि छन् । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये एक हजार एक सय १८ परिवार खरको छानामुनि छन् ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा सात सय १६, बबई गाउँपालिकामा ६ सय ८, राप्ती गाउँपालिकामा छ सय ७४ परिवार खरको छानामुनि रहेका छन् । शान्तिनगर गाउँपालिकामा एक सय ८४, दंगीशरण गाउँपालिकामा एक सय ५४ परिवार खरको छानामुनि रहेको जनगणनाको तथ्यांकले देखाएको छ ।
जनगणनाको तथ्यांक अनुसार ११ लाख ४१ हजार तीन सय ४५ परिवार रहेको लुम्बिनीमा ४९ हजार छ सय ४६ परिवार र ६६ लाख छ हजार आठ सय ४१ परिवार रहेको नेपालभर दुई लाख ४९ हजार चार सय १६ परिवार खरको छानामुनि छन् ।।