२०८० फाल्गुन १३ गते आइतवार

घर नक्सा पास नगरे सेवा कटौती गर्ने तुलसीपुर उपमहानगरको निर्णय



दाङ, १२ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निणर्य गरेको छ ।

उपमहानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिनुभयो ।

उपमहानगरले पक्की घरको एक हजार, कच्ची घरको पाँच सय, अव्यवस्थित बसोबासीका लागि एक सय, भूमिहीन दलितका लागि ५० र भूमिहीन सुकुमबासीका लागि ५० रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ ।

असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सलटेन्सीले सेवा शुल्क फरक-फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ । उपमहानगरका प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार