२०८१ मङ्सिर २३ गते आइतवार

विभत्सरुपमा हत्या गरिएको अवस्थामा भेटिएपछि….



दाङ-

टाउको काटिएको अवस्थामा छ । तर टाउको नजिकै शरिरका अन्य कुनै पनि अंग छैनन् । नजिकै रगतै रगत लागेको चक्कु छ । एक जना घाइते अवस्थामा छन् । प्रहरी पनि नजिकै छ । घटनास्थल चारैतिरबाट घेरिएको छ । घेराभित्र कसैलाई जान दिइएको छैन् ।

घटनास्थलमा तीन जनाको टोली पुग्यो । विभत्स रुपमा टाउको छिनालिएको ठाउँमा पुगेर तीन जनाको टोलीले मुचुल्का उठाउन थाल्यो । त्यस समयमा घाइते अवस्थामा एक जना भेटिएपछि तत्काल एम्बुलेन्सलाई खबर गरियो । एम्बुलेन्स आएर टाउको र शरिरका अन्य भागमा चोट लागेर घाइते भएका व्यक्तिलाई अस्पताल लगियो । तर यो सबै वास्तविक नभई मेट्रो कलेज तुलसीपुरमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले हत्याजस्तो जघन्य अपराधलाई शुरुमा गरिने प्रक्रियाका बारेमा डेमोको रुपमा प्रस्तुत गरेको नाटक थियो ।

शुक्रबार विद्यार्थीले अपराध अनुसन्धानको नमुना प्रदर्शन गरेका छन् । कुनै पनि अपराध भएपछि दोषि उम्कन नपाउने गरी कसरी अनुसन्धान गर्नुपर्छ भन्ने नमुना देखाएका हुन् । अपराध अनुसन्धानलाई वैज्ञानिक र तथ्यपरक बनाउन विद्यार्थीले नमुनाको रुपमा नाटकिय ढंगले प्रस्तुत गरेको कलेजका प्रमुख बसन्त आचार्यले बताए । ‘कलेजमा काननु संकायमा पढ्ने विद्यार्थीले अपराध भएपछि प्रमाणहरु कसरी संकलन गर्न सकिन्छ भन्ने कुरा देखाउन पनि नाटक प्रस्तुत गरेका छन् ।’

उनले भने(‘घटना भएपछि दोषिलाई उम्कन नदिने र निदोर्ष व्यक्ति नफसोस् भन्ने नै प्रमुख उद्देश्य रहेको हुन्छ, त्यसैलाई डेमोको रुपमा देखाइएको हो ।’ घटनाको डेमो हेरेपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बिरबहादुर वलीले विद्यार्थीले प्रस्तुत गरेको डेमोले पनि अपराध अनुसन्धानलाई कसरी विश्वसनीय बनाउने भन्ने स्पष्ट पारेको बताए । ‘अपराध अनुसन्धान निकै जटिल काम हो ।’ उनले भने(‘यस्ता घटना भइहालेमा अत्यन्त सजकताका साथ काम गर्नुपर्दछ ।’ यस्तै कार्यक्रमका योजनाकार अधिवक्ता कोशिस गिरीले कानुन पढ्ने विद्यार्थीलाई अपराध अनुसन्धानको कानुनी जानकारी दिन कार्यक्रम गरिएको बताए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मान बहादुर रावत, मानवअधिकारकर्मी शुसिल बस्नेत, व्यवसायी बिमल रिजाल, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले कानुन संकायका विद्यार्थीले नमुनारुपमा प्रस्तुत गरेको नाटकले अपराध अनुसन्धानलाई तथ्यपरक, वैज्ञानिक निष्पक्ष बनाउन भूमिका खेलेको बताए । कार्यक्रम संयोजक गोपाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यार्थी प्रकाश वलीले गरेका हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार