२०८१ मङ्सिर २३ गते आइतवार

वैदेशिक रोजगारीको नाममा तुलसीपुरका २१ युुवा ठगीए



दाङ, २५ जेठ ।
वैदेशिक रोजगारीको नाममा तुलसीपुरका २१ जना युवा ठगिएका छन् । विदेश पठाईदिने बहानामा १ करोड ६३ लाख बढी रकम लिएका अंकित अधिकारी फरार भएपछि ति युवाहरुको बिचल्ली भएको छ ।

पटक पटक गरेर लाखौँ रकम बुझाएका उनीहरुले नक्कली भिषा र नक्कली टिकट भएको थाहा पाएपछि रकम लिएका अंकितलाई खोजि गरिरहेका छन् । गंगा बहादुर डाँगीले क्यानडा जाने भनेर मोवाईल बैंकिङ मार्फत शुरुमा एक लाख र फेरि ३५ हजार अंकितलाई बुझाएको बताउनुभयो ।

गंगाले अंकितलाई पटक पटक गरेर नगद २४ लाख ८० हजार बुझाइसक्नु भएको छ । ठुलो रकम बुझाएपछि क्यानडा जाने ढुक्क भएका उहाँ जेठ १६ गते काठ्माण्डौ जानुभएको थियो । तर उहाँलाई अंकितले नक्कली भिषा र नक्कली टिकट थमाएको थाहा पाउनुभयो ।

यस्तै तुलसीपुर–७ का बिनोद केसी पनि वैदेशिक रोजगारका नाममा ठगिनु भएको छ । उहाँले अंकित अधिकारी र उहाँको परिवारलाई २७ लाख बुझाई सक्नु भएको छ । छोरालाई क्यानडा पठाउने नाममा अंकित र उहाँको परिवारले आफुमाथि ठगि गरेको पिडित केसीको आमाले बताउनुभयो ।

तुलसीपुर–१५ का गगन कार्कीको पनि एक महिना अघि काठ्माण्डौडमा अंकित अधिकारीसंग भेट भएको थियो । कार्कीलाई पनि अंकित अधिकारले क्यानडा पठाउने प्रलोभन देखाएर शुरुमा दुई लाख मागेका थिए । उहाँले पनि दुई लाख बुझाउनु भयो । पटक पटक गरेर अंकितलाई १७ लाख बुझाएको गगनका बुवाले बताउनभयो ।

तुलसीपुर–१० का दिपक भट्टराईले पनि अंकितलाई क्यानडा जानका लागि पटक पटक गरेर २५ लाख बढी बुझाउनु भएको छ । भट्टराईले पनि अन्तिम समयमा आएर नक्कली भिषा र नक्कली टिकट भएको काठ्माण्डौ पुगेपछि मात्रै थाहा पाएको बताउनुभयोे । उहाँले ठगिएको महशुस भएपछि धेरै पटक अंकितलाई सम्पर्क गर्न खोज्नुभयो तर अहिले सम्म भेट्न सक्नुभएको छैन् ।

गंगा, बिनोद, गगन र दिपकजस्तै २१ जना युवाबाट १ करोड ६३ लाख बढी रकम लिएर अधिकारी फरार रहेका छन् । विभिन्न व्यक्तिबाट १ करोड ६३ लाख ७० हजार रकम लिएको पिडितको दावि छ । युवालाई विदेश पठाउने बहानामा पटक–पटक रकम असुलेर अंकित फरार भएको पिडितले बताएका छन् ।।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार