दाङ, ११ असार ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज(सोमबार)बाँडफाँट भएको छ । जेठ २६ गतेदेखि ३० गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो।
कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँट गरिएको हो ।