२०८० असोज ५ गते शुक्रवार

तुलसीपुरको ‘स्मार्ट छोरी’ कार्यक्रम स्थागित



दाङ, १७ असार ।
तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी कार्यक्रम स्थगीत गरेको छ । पालिकाले आर्थिक अभावको कारण देखाउँदै कार्यक्रम रोकेको हो । २०७७ साल साउन १ गते देखि लागु भएको कार्यक्रममा हाल सम्म एक हजार बढी छोरीहरु समावेश भएका छन् ।

तिन वर्षको अवधिमा एक हजार ३५ जना समावेश भएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । पालिकाले २०७७ साल साउन १ गते देखि खाता खोलेका छोरीहरुको बैंक खातामा पैसा जम्मा गरेको थियो ।

गत आर्थिक वर्षसम्ममा ५ सय ६५ जना छोरीहरको खातामा मात्रै रकम जम्मा गरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चालु वर्षमा मात्रै करिब ४ सय ७० जना छोरीको बैंक खाता खोलिएको छ । तर चालु वर्षमा खाता खोलेका छोरीहरुको खातामा पालिकाले रकम जम्मा गर्न नसकेको उहाँले बताउनुभयो ।

पालिकाले स्मार्ट छोरी कार्यक्रमको लागि पैंसाको जोहो गर्न नसकेपछि यो कार्यक्रम स्थगित गरेको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुरका १९ वटै वडामा स्मार्ट छोरी कार्यक्रम स्थगित भएको पत्र पठाइसकेको छ । पहिले नै खाता खोली सकेको छोरीहरुको आमाबुवालाई अब आफुले नै मासिक रुपमा रकम जम्मा गरीदिन सुझाव दिने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

पालिकामा रकम अभावले चालु वर्षमा खाता खोलेका छोरीहरुको खातामा रकम जम्मा हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले जानकारी दिनुभयो । आन्तरीक स्रोतको रकम संकलन नभएपछि कार्यक्रम स्थगित गर्नुपरेको केसीले बताउनुभयो । पालिकामा आर्थिक भारले गर्दा दुई आर्थिक वर्ष सम्मलाई कार्यक्रम स्थगित भएको छ ।

नगर प्रमुख टिकाराम खड्काले पछिका दिनहरुमा यो कार्यक्रमलाई परिमार्जण गरेर लैजाने लक्ष्य लिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले बालविवाह रोक्न र छोरीको आर्थिक सामाजिक शसक्तिकरणका लागि २०७७ साल साउन १ गतेदेखि स्मार्ट छोरी कार्यक्रम लागु गरेको थियो ।

उपमहानगरपालिका भित्र जन्मिएका छोरीहरुको बैंक खाता खोली २० वर्षको उमेरसम्म उपमहानगरले निश्चित रकम जम्मा गर्ने गरेको थियो । पूर्व नगरप्रमुख घनश्याम पाण्डेको पालामा आएको कार्यक्रम पालिकामा नयाँ जनप्रतिनिधि आएसंगै स्मार्ट छोरी कार्यक्रम स्थगित भएको हो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार