
दाङ, ७ भदौ ।
बिरामीको उपचारमा स्वास्थ्यकर्मीलाई सुरक्षाको आवश्यक प्रवन्ध नभएको एक कार्यक्रमका सहभागीले बताएका छन । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा आज (बिहिवार) तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भएको कार्यक्रममा बोल्ने सहभागी स्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन ।
सर्पदंशको उपचार ब्यवस्थापन सम्बन्धि आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ती र भौतिक संरचना हुँदा पनि अस्पताल रेफरका रुपमा चिनिनु लज्जास्पद विषय भएको धारणा राखेका छन् ।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डा.नारायण सिङ गुरुङले अरुको जिवन जोगाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मी आफ्नै ज्यानको सुरक्षा प्रत्याभुत नहुँदा बिरामीलाई कसरी सेवा दिने भन्ने मनोभावले यो समस्या निम्तिएको हुन सक्ने तर्क गर्नुभयो । भगवानका रुपमा लिइने स्वास्थ्यकर्मीलाई सुरक्षाको वातावरण निर्माण गर्नसके यो समस्या समाधान हुन सक्ने उहाँको भनाइ छ ।
राप्ती प्रादेशिक अस्पताल विकास समिती तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव जनार्दन पन्थीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पन्थीले अस्पतालमा जनशक्ती छैन भनेर पन्छीन नहुने बताउनुभयो । भएको जनशक्तीलाई ब्यवस्थापन गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले अस्पताललाई रिफरीङ सेन्टर नभइ उपचार केन्द्र बनाउन निर्देशन दिनुभयो ।
उहाँले कर्मचारीलाई दैनिक चार–पाँच घन्टा कुर्सीमा बसेर काम गरेको मात्र नसम्झीन समेत आग्रह गर्नु भएको छ । अस्पताल बाहिरको सरसफाइमा प्रशासनले ध्यान नदिएको भन्दै स्थानीय सरकार समेत लज्जीत बनेको स्वीकार गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा सर्पदंशको समस्या, उपचारका लागि तत्काल कसरी ब्यवस्थापन गर्ने लगायतका विषयमा प्रशिक्षण दिइने छ । तालिमको मुख्य प्रशिक्षकका रुपमा भेरी अस्पतालका बरिष्ठ मेडिकल कन्सलटेन्ट डा.कृष्ण आचार्य रहनु भएको छ । कार्यक्रमको सहजिकरण ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य विभागका नासु बिष्णु मरासनीले गर्नुभएको हो ।