२०८१ जेष्ठ ९ गते बुधवार

खोजी समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड



दाङ, ११असोज ।
पत्रकारको अस्तित्व जोगाउन खोजी समाचारलाई प्राथमिकता दिनुपर्ने दाङको तुलसीपुरका क्रियाशील पत्रकारहरूले जोड दिएका छन् । कुनै सङ्घसंस्थाको साधारणसभा, पदभार ग्रहण, छलफल जस्ता औपचारिक कार्यक्रममा दिनभर समय खर्चिनुभन्दा आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक रुपमा पछाडि पारिएका समूदायको समस्यालाई बाहिर ल्याउनसकेमा त्यसले ठूलो प्रभाव पार्ने बताएका छन् ।

स्वतन्त्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको बहसमा बोल्दै पत्रकाहरुले खोजी समाचार मार्फत लुकाउन खोजिएका कुराहरूलाई बाहिर ल्याउनसके त्यसले पत्रकारहरूको सृजनशीलता, क्षमता अभिवृद्धि हुनुका साथै आफ्नो अस्तित्व र पहिचानमा समेत सहयोग पुग्ने बताएका हुन् ।

खोजी समाचारले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेका सरकारी तथा गैर सरकारी सङ्घसंस्थालाई थप हौसला प्रदान गर्ने र त्रुटि भएका वा लुकाउन खोजिएका कुराहरू बाहिर आएमा त्यसले सुधारका लागि सहयोग पुग्ने उनीहरूले बताएका हुन् ।

व्यवसायीक पत्रकारिताका लागि सबै पत्रकारहरू एकतावद्ध भएर लाग्नु पर्ने बताउँदै उनीहरूले आस्था र बिचार फरक भएपनि पेशा एउटै भएकाले पेशा प्रति जिम्मेवार र बफादार बन्न आवश्यक रहेको उनीहरूको जोड छ । स्वतन्त्र पत्रकार संघ दाङका अध्यक्ष जित सागर जिएमको अध्यक्षतामा भएको कार्यक्रम पछि राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेको संयोजकत्वमा ७ सदस्य समन्वय समिति गठन गरिएको छ ।

जसको सदस्यमा रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जित सागर जिएम, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, सञ्जीवनी एफएमका स्टेशन म्यानेजर शरद रेग्मी, पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशीखा चौधरी, रेडियो तुलसीपुर एफएमका समाचार सम्पादक शर्मिला डिसी, रतुलसीपुर अनलाइनका प्रबन्धक हेमराज डाँगी रहनु भएको छ ।

समन्वय समितिले तुलसीपुर क्षेत्रमा रहेका सञ्चार माध्यमहरूको पहिचान, प्रभावकारिता, एकरूपता, व्यवसायीक एकतालगायतका विषयमा एक साताभित्र खाका तयार पार्ने भएको छ । बहसमा पत्रकारहरू बालाराम खडका, वसन्त पौडेल, बिमल गौतम,सन्तोष केसी, आशीष केसी, निरला अर्याल गैरेलगायतले आआफ्ना धारणा राखेका हुन् ।।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार