२०८१ असोज २७ गते आइतवार

सासुको हत्या गरेर शबलाई भकारीमा राख्ने बुहारी पक्राउ



सल्यान, २१ असोज । सल्यानमा आफ्नै सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ खार्वनकी ४९ वर्षिय सासु गणेशी रोकाको हत्या गरेको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

रोकाको शब गत बिहिबार बिहान घरभित्रै खाद्यान्न राख्ने काठको भकारोमा फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीले बताउनुभयो ।

पक्राउ परेका शर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको डिएसपी कार्कीले जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभइ घाँटीमा निलडाम देखिएको उहाँको भनाइ छ ।

शर्मिलाले गत बैशाखमा मात्र गणेशी रोकाको कान्छो छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन् । पक्राउ परेपछि शर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेकी छिन् । उनले आफूले मारेर कसैले थाहा नपाओस् भनेर नै खाद्यान्न राख्ने काठको भकारीमा लुकाएको समेत स्विकार गरेको प्रहरीले जनाएको छ ।

१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान गन्हाउने तथा गल्न थालेको अवस्थामा शव फेला परेको थियो । १५ गते नै सर्मिलाले सासुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार