२०८१ असोज २१ गते सोमवार

सामुदायिक विद्यालयमा शिक्षा सुधार्न सामुहीक नेतृत्व आवश्यक छ : महासचिव पोखरेल



तुलसीपुर, ३ कार्तिक ।

माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको नयाँ प्रशासकिय भवनको उद्घाटन गरिएको छ ।आठ कोठे प्रशासकिय भवनको शुक्रबार लुम्बिनी प्रदेशका प्रथम मूख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै पोखरेलले सामुदायिक विद्यालय मध्येमा मावि तुलसीपुर सेन्टर उदाहरणीय बनेकोले आवश्यक पूर्वाधार निर्माणमा निरन्तर सहयोग रहने बताउनुभयो । विद्यालय शिक्षा सुधारमा विद्यालयले गरेको प्रगती प्रशंसनीय रहेको बताउनुभयो । सामुदायीक विद्यालयमा शिक्षा सुधार्न सामुहीक नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ प्रशासकिय भवन १ करोड ५४ लाख ४८ हजारमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो ।

विस २०२७ सालमा स्थापना भएको विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाई हुने गरेको छ । विद्यालयमा अंग्रेजी र नेपाली दुवै भाषामा पढाई हुने गरेको प्रअ पौडेलले बताउनुभयो ।

विद्यालयमा अहिले २ हजार ५ सय ५ विद्यार्थीले अध्ययन गरिरहेको प्रधानाध्यापक पौडेले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भवनको उद्घाटन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मावि तुलसीपुर सेन्टरको आवश्यक विकासका लागि स्थानीय सरकारको साथ र सहयोग निरन्तर हुने बताउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी शुसील बस्नेतले विद्यालयले बालमैत्री शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक भोला पौडेलले गर्नुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार